उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि निर्देशन दिनुभयो । प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गराउनुभयो ।

कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउधनको सुरक्षामा अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको स्मरण गर्दै उहाँले आवश्यक व्यवस्थापनमा गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ विभाग र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो । निरीक्षणपश्चात गृहमन्त्री अधिकारीले भर्चुअलमार्फत सातै प्रदेशका प्रहरी प्रमुखलाई समेत सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिनुभएको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल प्रहरी थप व्यावसायिक र ऊर्जावान हुने विश्वास दिलाउनुभयो । प्रहरी महानिरीक्षक थापाले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको सन्दर्भ जोड्दै कोभिडको उपचार, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोबल विषयमा शोध र प्राप्त सुझावको कार्यान्वयन, प्रहरी कर्मचारीको आचारसंहिताको कार्यान्वयनलगायतका विषयले सङ्गठनको पद्धतिजन्य विकास र सूत्रबद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले जानकारी गराउनुभयो । उहाँले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीसमक्ष प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।