साताको शेयर बजार : ८३ अर्बको कारोबार

काठमाडौँ, धितोपत्र बजारमा यस साता रु ८३ अर्ब बढीको कारोबार भएको छ । लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो । निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेका तथा कारोबारसमेत प्रविधिमैत्री भएका कारण पनि कारोबार रकमका साथसाथै नेप्सेमा समेत उच्च अङ्कको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार नियमित राख्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले शेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ । नेप्सेका अनुसार कारोबार भएका साताका पाँच दिन नै औषतमा रु १६ अर्बको कारोवार भएको छ ।

नेप्सेका अनुसार कूल २२१ कम्पनीका १७ करोड पाँच लाख ९० हजार ६४३ कित्ता शेयर रु ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७६७ मा कारोबार भए । कारोबारका आधारमा पनि पछिल्ला दिनमा यो सबैभन्दा बढीको कारोबार हो । साताको पहिलो दिन नै नेप्सेले कीर्तिमान कायम गरेको थियो । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेका बेला नै नेप्से परिसूचक दुई हजार ९०० को बिन्दुमा पुग्यो ।

आइतबार नेप्से ५०.१३ बिन्दुले बढेर दुई हजार ९०६.८९ मा पुग्यो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८८ ले सुधार भई ५२०.९९ मा पुग्यो । कूल २१७ कम्पनीको तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर रु १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

साताको पहिलो दिन रेकर्ड बनाएको नेप्से सोमबार भने झिनो अङ्कले ओरालो लाग्यो । त्यसदिन ०.२१ अङ्कले घटेर नेप्से दुई हजार ९०६.७० मा सीमित भयो । कूल १२१ कम्पनीका तीन करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर रु १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ मा कारोबार भयो ।

कारोबार हुने साताको तेस्रो दिन नेप्सेले नयाँ रेकर्ड बनायो । बजार पूँजीकरण पनि त्यस दिन रु ४१ खर्ब नाघ्यो भने सात कम्पनीको शेयरमा सर्किट लाग्यो । त्यस दिन मुलुकको कूल गार्हस्थ्य उत्पादनलाई शेयर बजारले पछाडि पार्दै कूल बजार पूँजीकरण रु ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुग्यो । यो हालसम्मकै सबैभन्दा धेरै हो । सोही दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताउनुभएको थियो ।

सोमबारको तुलनामा मङ्गलबार बजार पूँजीकरण मात्रै रु ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको थियो । मुलुकको कूल गार्हस्थ्य उत्पादन रु ४० खर्बको हाराहारीमा रहेको छ । त्यस दिन नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुग्यो । नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुग्यो । कूल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता शेयर रु १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये त्यस दिन तीन उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लाग्यो । कारोबार हुने साताको चौथो दिन नेप्से तीन हजार बिन्दुमा पुगेर १३.५६ बिन्दुले घटी दुई हजार ९४६.५८ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ बिन्दुले घटेर ५२५.२८ मा झ¥यो । कूल २२१ कम्पनीका तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर रु १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।

शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको थियो । कारोबार भएका कूल २२० कम्पनीका तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर रु १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घट्यो ।

यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ९२ अर्ब १५ करोड बराबर पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको रु एक खर्ब ८८ अर्ब ८० करोड बराबर रहेको छ । नबिल बैंकको रु एक खर्ब ७५ अर्ब ७८ करोड १२ लाख ६५ हजार ५३६ बराबर बजार पूँजीकरण रहेको छ । नेपाल पूर्वाधार बैंकको रु एक खर्ब आठ अर्ब २० करोड बराबर रहेको छ ।

माथिल्लो तामाकोशीको भने रु ८१ अर्ब ६४ करोड ८९ लाख बराबरको बजार पूँजीकरण रहेको छ। नेपाल लाइफ इन्स्योरेन्सको रु एक खर्ब ५२ अर्ब २० करोड ७३ लाख ७४ हजार २५६, नागरिक लगानी कोषको रु एक खर्ब २२ अर्ब ८५ करोड १२ हजार २८५ बराबरको बजार पूँजीकरण रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।