उदयपुरमा सशस्त्र प्रहरी बलको ५ नम्बर गण उद्घाटन
उदयपुर । स’शस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुर स्थित स’शस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरेका छन् ।
आइतबार त्रियुगा नगरपालिका–९ मा नवनिर्मित गणको उद्घाटन गर्दै महानिरीक्षक खनालले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालिन त्रियुगा गुल्मलाई गणमा स्तरोन्नति गरिएको बताए।
राष्ट्रसेवक कर्मचारीहरूले देखाएको इमान्दारिता, अनुशासन, बफादारिता, कर्तव्यपरायणता तथा उच्च समर्पण भावका कारण संगठन यो स्थानसम्म आइपुगेको खनालले बताए।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन २ सय २४ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको र यो वर्ष १ सय २० वटा थप गर्ने लक्ष्यका साथ आवश्यक तयारी भइरहेको महानिरीक्षक खनालले जानकारी दिए।
छाङरुदेखि ओलाङ्चुङगोलासम्म र हिल्सादेखि किमाथांकासम्म तैनाथ भएर संगठनका राष्ट्रसेवक कर्मचारीहरु भौगोलिक विकटता र प्रतिकुल मौसमका बाबजुद उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको उनले बताए।
मनसुनजन्य उद्दारमा तत्काल र जुनसुकै बेला परिचालित हुनको लागि तयारी हालतमा बस्न समेत उनले निर्देशन दिएका छन्।
२०७५ मा तत्कालिन त्रियुगा गुल्मलाई स्तरोन्नति गरी गण स्थापना गरिएको हो।


