अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम
धनकुटा । किराँत राई साँस्कृतिक कलाकार संघले पहिलो पटक विश्वव्यपी अनलाइनको माध्यमबाट विश्वव्यापी रुपमा आयोजना गरेको अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिताको प्रथम स्थान झापाका बल बहादुर राईले हाँसिल गर्नुभएको छ ।

त्यस्तै खोटाङकी पम्फा खालिङग राई द्वितिय र ओखलढुङ्गाकी जीतुमाया राई तृतिय हुनुभएको छ । प्रतियोगितामा झापाकी मन कुमारी राई चौथो हुनु भएको छ । प्रतियोगिताका विजयीहरुलाई क्रमश: १६ हजार १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिता अन्र्तगत जन्तेढुङ्गा गाउपालिका वडा नं ६ आहाले खोटाङकी ९५ वर्षकी विष्णुमाया राई र हलेसीतुवाचुङ नगरपालिका ५ खोटाङकी ९२ वर्षकी देशलक्षी राईलाई नगद ५-५ हजार प्रदान गर्दै ज्येष्ठ नागरिक सम्मान पुरस्कारबाट सम्मान गरिएको छ ।
नेपाल सहित विभिन्न देशका १ सय ११ जनाले सहभागिता जनाएको प्रतियोगिताको फाईनल परिणाम बरिष्ठ गायक,संगितकार तथा साहित्यकार गणेश रसिक राईको प्रमुख आथिथ्यमा सञ्चालित कार्यक्रमको वीच सार्वजनिक गरिएको हो ।

बरिष्ठ गायक तथा संगितकार जितेन राईको संयोजकत्वमा गठित निर्णायक मण्डलका सदस्यहरु किराँत राई साँस्कृतिक कलाकार संघका पूर्व अध्यक्ष पार्वती राई र निवर्तमान अध्यक्ष राजु एन राईको टिमले नतिजा घोषणा गरेका थिए ।
किराँत राई साँस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राईले लोपोन्मुख अवस्थामा रहेको पूर्खाको नासोलाई युवा पुस्तामा हस्तान्तरण गर्नु, कोङकोङमा बाजालाई प्रबद्र्धन गरी दस्तावेजीकरण गर्दै विश्वमा चिनाउनु, कोङकोङमा किराँती समुदायको सभ्यतासँग नजिक रहेको र यसलाई हाम्रा पुर्खाले अपनत्व कायम गर्दै आएको भन्ने दावी गर्न किराँत राई साँस्कृतिक कलाकार संघले कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले यो बाजा कुन उमेर समुहमा लोकप्रिय छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न, कोङकोङमा धुनलाई डकुमेन्टेसन गर्न र कोङकोङमा बाजाको प्याटेन राइटको अधिकार प्राप्त गर्ने अभियानको रुपमा यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पर्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष जितेन राईले कोङकोङमा सम्बन्धि अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने विशेष अतिथि किराँत राई यायोक्खा केन्द्रीय समितिका महासचिव जनक राई, अक्षयकोषदाता युवाराज राई, किराँत राई यायोक्खा बाग्मती प्रदेशका संयोजक सुमन राई , बम्बुले राई समाजका अध्यक्ष गजुरधन राई, प्रदेश नं १ का प्रदेश सदस्य विनादेवी राई र सचिव सुरज मेवाहाङ राई लगायतले बधाई मन्तव्य राखेका थिए । कार्यक्रममा किराँत राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष सालिक शतासक राईले स्वागत मन्तव्य राख्नु भएको थियो ।


