विश्वमै दुर्लभ चरा बारेकोटमा

हेमन्त केसी, जाजरकोट, ६ साउन । विश्वमै दुर्लभ मानिएका चराहरु बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा फेला परेका छन् । पटक–पटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चरा फेला परेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य गोविन्द सिंहले बताउनुभयो । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइमा)मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड तथा कर्रासुगा फेला परेका छन् ।

दिनरात चराको खोजीमा बिताउने केन्द्रीय सदस्य सिंहले लोभीपापी गरुड निकै खोजीपछि बारेकोटमा फेला परेको बताउनुभयो । बारेकोट–२ स्थित जीउलामा लोभीपापी गरुड फेला परेका हुन् । सिंहले बारेकोटमा पहिलोपटक लोभीपापी गरुड फेला परेको बताउनुभयो ।

यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए । सामान्यतया समुद्री सतहभन्दा ९१५ मिटरभन्दा कम उचाइको भूभागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६०० मिटरको उचाइमा भेटिएको सिंहले बताउनुभयो । धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्येताहरूका लागि चासोको विषय हुनसक्ने उहाँको भनाइ छ ।

जलवायु परिवर्तनका कारण विस्तारै यी पक्षी लेकतिर बसाइँ सर्ने गरेको चराविद्को भनाइ छ । बारेकोट जुम्लासँग सिमाना जोडिएको गाउँपालिका हो । यो अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ । रूख फँडानी गर्दा गिद्धलगायत यी पक्षीलाई असर परेको छ । अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उहाँको भनाइ छ । मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पक्षी लोप हुने अवस्थामा पुगेको छ । बालीनालीमा हुने किरा फट्याङ्ग्रा, भ्यागुता, सर्प, मुसा खाएर बालीको सुरक्षा गर्ने भएकाले यसलाई किसानको साथी मानिन्छ ।

लोभीपापी गरुड मध्यम आकारको गरुड हो । यसको गठिलो, प्रायः कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ । यसको उडानका क्रममा माथिल्ला र तल्ला पखेटा पूरै गाढा देखिन्छ । बच्चा लोभीपापी गरुड बयस्कजस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पखेटाका साथै प्वाँखले ढाकिएको निधार भएको हुन्छ । लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो ।

यो चरा एशियाको रैथाने प्रजाति हो । लोभीपापी गरुड एशियामा नेपाल, भारत हुँदै इण्डोनेशियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ । यो प्रजाति प्रायः ९१५ मिटरभन्दा तलको क्षेत्रमा पाइने गर्छ । यो चराको प्राकृतिक बासस्थान खोलानाला, ओसिलो भूमि, दलदले भूभाग तथा तालहरूको छेउछाउका घाँसे मैदान हुन् ।

बारेकोटमै ८८ प्रजातिका चरा

बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका थिए । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेका जाजरकोटका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेका हुन् ।

जानकारी दिनुभयो । कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि बारेकाटमा फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो । रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा जाजरकोटमा चराको अध्ययन गरिएको हो । रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरुङ्गी पाइएको पक्षी संरक्षक सिंहले जानकारी दिनुभयो ।

मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरिका चरा फेला परेका थिए । बारेकोट मात्र नभएर जाजरकोट चराको नमूना क्षेत्र नै भएको रेड पाण्डा नेटवर्कका भूपाल केसीले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।