मुस्ताङी ऊनको बजार सुनिश्चित

बाग्लुङ । च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ ।

नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो ।

खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल पस्मिना उद्योग सङ्घले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन) सङ्कलन केन्द्र स्थापना गरेको जनाएको छ ।

सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए ।

‘स्वदेशी ऊन प्रशोधन गर्न काठमाडौँमा नेपाल फाइबर प्रोसेसिङ उद्योग खोलेका छौँ,’ उनले भने, ‘पहिलो पटक मुस्ताङमा सङ्कलन केन्द्र खोलेर रु ९० लाख मूल्य बराबरको दुई हजार किलोग्राम ऊन खरिद गरिसकेका छाँै ।’

लामिछानेको नेतृत्वमा सङ्घका उत्सव खनाल, बिजु शाक्य, भीम शेरचन र इन्जिनीयर विवेकानन्द मिश्रको टोली दामोदरकुण्ड लोघेकर तथा लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र च्याङ्ग्रापालक कृषकहरुसँग अन्तरक्रियाका साथै भुवाको सम्भाव्यता अध्ययन गरेर मङ्गलबार काठमाडौँ फर्किएको हो ।

मनाङमा भुवाको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधि पठाएको सङ्घले लगत्तै डोल्पा, मुगु, हुम्लालगायत जिल्लामा जाने जनाएको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थका रूपमा प्रयोग हुन्छ ।

नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । पस्मिना उद्योगीसमेत रहेका इन्जिनीयर मिश्रले मुस्ताङको भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताए ।

‘परम्परागत र अव्यस्थितरूपमा सङ्कलन गरिएको मुस्ताङको भुवा प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ,’ उनले भने, ‘च्याङ्ग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ ।’

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले ऊन निकाल्ने गरेका छैनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो ।

तीस प्रतिशत ऊन सङ्कलन गरे पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन सटही गरेर लैजान्थे ।

कोरोनाका कारणले पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन बिक्री हुन सकेको थिएन । लोमान्थाङका ट्यासी बिष्टले खेर गइरहेको ऊनले उचित मूल्य र बजार पाएकामा खुसी व्यक्त गरे ।

लोमान्थाङका कृषकहरुको ऊन बजारीकरण गर्न त्यहाँ अर्को सङ्कलन केन्द्र बनाउने तयारी भएको छ । कृषकले केन्द्रमा ल्याउने ऊन सङ्कलन गरेर सङ्घले खरिद गरी काठमाडाँै लैजाने सम्झौता भएको छ ।

प्रतिकिलो अप्रशोधित ऊन सरदर रु चार हजार ५०० मा खरिद गर्ने सङ्घले जनाएको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट ऊन निकाल्ने याम हो ।

मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ । पस्मिना उद्योगी खनालले च्याङ्ग्राको सङ्ख्या बढाउन, हिउँदमा आहाराको व्यवस्थापनका लागि घाँस खेती, भण्डारण र महामारीबाट बचाउन खोपको व्यवस्थापन गर्नुपर्ने बताए ।

च्याङ्ग्राको ऊन पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् ।

यसैबीच उपल्लो मुस्ताङका कृषकहरुले विश्व बैंकको सहयोगमा नेपाललाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना (एनएलएसआइपी)को अव्यावहारिक कार्यविधिका कारण सो परियोजनाको सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् ।

हिमाली क्षेत्रका च्याङ्ग्रापालक कृषकहरुलाई समेट्ने गरी कार्यविधि संशोधन गर्नुपर्ने चराङका कृषक पासाङ बिष्टले बताए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।