धान पूरै रातो भएर सुकेको र पात सबै सुकेर म,र्न लागेपछि किसान चिन्तित

दयाराम आचार्य; कावासोती, ३ भदौ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उहाँले भन्नुभयो ।

यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती–१७ र गैँडाकोटका वडा नं ११ र १२ मा पनि रोग देखिएको छ ।

किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ । धान ब्लक सञ्चालन गरिएको कावासोती र गैँडाकोटमा अनुगमन गरिएको हो । जिल्लाका आठवटै स्थानीय तहबाट धानमा रोग देखिएको गुनासो आएको ंकृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो।

क्रमशः सबै स्थानीय तहमा अनुगमन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासु रेग्मी, प्रभनमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख विष्णुप्रसाद शर्मा समेतको सहभागितामा केही दिनअघि अनुगमन गरिएको हो ।

ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीका अनुसार धानमा ब्याक्टेरीयल, ढुसीजन्य रोग र गबारो देखिएको छ । सबैभन्दा बढी खाद्य तत्वको कमी पाइएको छ । धान बालीमा पानी बढी हुँदा ब्याक्टेरीयल र ढुसीजन्य रोग देखिने उहाँको भनाइ छ । खाद्य तत्वको कमीले पनि पात रातो हुने, बाली सुक्ने उहाँले बताउनुभयो । किसानले खाद्य तत्वको कमी भएको भन्ने थाहा नपाउँदा खेतीमा नोक्सान पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

चौधरीका अनुसार अधिकाशं किसानले धानमा डिएपी र युरिया मल राख्ने तर पोटासको प्रयोग गर्दैनन् । पोटासको कमीले पनि धानबाली सप्रिदैन् । अर्को, किसानले धेरै वर्षसम्म एउटै जातको धानबाली लगाउँदासमेत यस्तो समस्या देखिएको हो । एउटा जातको बाली बढीमा चार वर्षसम्म प्रयोग गरेपछि फेर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

त्यस्तै अर्को कारण भनेको प्रयाप्त मात्रामा गोबर मल वा अर्गानीक मलको प्रयोग नगर्ने, रसायनिक मलको बढी प्रयोग गर्दा पनि यस्तो समस्या देखिएको चौधरीले जानकारी दिनुभयो । अनुगमनका क्रममा किसानलाई धानमा देखिएको समस्याको समाधानका बारेमा समेत जानकारी थियो । जिल्लाका धेरै किसानले सावित्री, हर्दिनाथ, वारलगायतका जातका धान लगाएका छन् ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख रेग्मीले प्रदेशको सबैभन्दा बढी धानखेती हुने जिल्ला भनेको नवलपरासी पूर्व भएका कारण यहाँ धान ब्लक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । धानमा विभिन्न खाले समस्या देखिएपछि कार्यक्रमसमेत प्रभावित हुने भएकाले आफूसमेत किसानको समस्या बुझ्न र समाधान कसरी गर्न सकिन्छ भनेर अनुगमनमा आएको उहाँले बताउनुभयो ।

धान ब्लक कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार गर्दै उत्पादनमा वृद्धि गर्ने, धानको बीउसमेत किसान आफैँले उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएकाले रोग किरालगायतका समस्याले किसान पनि मर्कामा पर्ने र कार्यक्रमसमेत प्रभावित हुने उहाँले बताउनुभयो । ब्लक कार्यक्रमअन्तर्गत किसानलाई कुलो, नहरलगायतका पूर्वाधार निर्माण, यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖