चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्छःअध्यक्ष दाहाल

चितवन, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको छ ।

भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को आज यहाँ शिलान्यास गर्दै उहाँले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाँैडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटिमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चितवनका लागि मात्रै नभएर मकवानपुरको हेटाँैडासम्म र नवलपुरको दाउन्नेसम्म एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत विस्तारपूर्वक वृहत्तर योजनामा जानुपर्छ ।” आफूले यो सपना देखेको भए पनि यसअघिको सरकारले चितवन र म प्रतिको हेर्ने दृष्टिकोण फरक राखेका कारण काम हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब विकासका कामलाई गति दिने कोशिस हुने छ ।” अध्यक्ष दाहालले आफैले बनाएको प्रधानमन्त्री मप्रति नै सकारात्मक नहुँदा यहाँको विकासमा समस्या आएको उल्लेख गर्दै जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लाग्यो त्यहीमाथि प्रहार र निषेधको खेल भएको बताउनुभयो । नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएकाले यहाँको विकास निर्माणपछि परिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने र उनीहरुसँग भएको साधनस्रोत र क्षमताको अधिकतम प्रयोग गर्न उदारतापूर्वक आउने गरेको इतिहास होइन । हाम्रो पूरै नकारात्मक उदाहारण र विगत छ ।”

संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजबाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधनस्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अबको समय सामाजिक न्यायसहितको विकासमा लाग्नुपर्छ ।”

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न समारोहमा प्रतिनिधिसभा सदस्य प्रमोद शाह, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कम्युनिष्ट नेता तेजेन्द्रबहादुर खड्का, महानगर उपप्रमुख पार्वती शाह ठकुरी, भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, विल्डर्सका कार्यकारी निर्देशक जीवन कँडेल, बिरोक एण्ड कम्पनीका अध्यक्ष रादेश पन्त, भरतपुर महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर भरतकुमार आचार्यलगायतले बोल्नुभएको थियो ।

सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिले भरतपुर महानगरपालिका–३ लायन्सचोकमा निर्माण र सञ्चालन हुने गरी सम्झौता भएको छ । सम्झौताको मितिले निर्माणका लागि तीन वर्षसहित ३० वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।

निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजामा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १४ तलाको हुने छ । तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइ रहने सो प्लाजामा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिक स्थल हुनेछन् ।

आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर मेट्रो प्लाजा ११ कठ्ठा ७ धुर क्षेत्रफलमा निर्माण हुने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।