व्यवसाहिक बाख्रा पालन बाट करोडको आम्दानी !

तोलाकान्त बगाले, वालिङ, ११ भदौ। स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो । मलेसिया, दुबई र भारतका विभिन्न कम्पनीमा रोजगारी गर्नुभएका उहाँलाई घर छोडेर टाढा विदेशी भूमिमा बस्दा मन खिन्न हुन्थ्यो ।

उहाँलाई परिवारसँगै बसेर केही न केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले छाडेन । यसले गर्दा उहाँ विदेश बसाइँलाई छोट्याएर आफ्नै जन्मभूमिमा फर्किनुभयो । स्वदेश फर्केपछि केही न केही व्यवसाय थाल्ने मनसायका साथ उहाँले अग्रजसँग सल्लाह तथा परामर्श लिनुभयो र गाउँमै सुन्तला तथा बाख्रापालन व्यवसाय सुरु समेत गर्नुभयो ।

उहाँले आफूसँग भएको रकम र ऋण गरी झण्डै रु १४ लाखका लगानीमा ‘गणेश बाख्रा फार्म’ दर्तागर्नुभयो । स्थानीय तथा उन्नत जातका बाख्राका माउ पाल्न शुरु गर्नुभएका उहाँलाई त्यत्तिमै सीमित हुन मनले मानेन् । उहाँले यहाँ वरिपरि उत्पादन भएका बोका तथा पाठाको बजारीकरणमा समस्या देखेपछि गाउँगाउँमा उत्पादन भएका खसी, बोका र पाठा खरिद गरी ल्याउने र फार्ममार्फत बिक्रीवितरण गर्न थाल्नुभयो ।

“आफ्नो फार्ममा उत्पादन भएका खसी, बोकासँगै गाउँमा रहेका किसानका खसी, बोका सङ्कलन गरी एकै ठाउँबाट बिक्रीवितरण शुरु गरेँ”, युवा व्यवसायी पाठकले भन्नुभयो, “यसले गर्दा यहाँ उत्पादन भएका खसी बोकाले उचित बजार पाउने भएपछि खसी, बोका नबिक्ने समस्याको हल भएको छ ।”

व्यवसाय सञ्चालन गरेसँगै उहाँले बढीमा रु दुई करोडसम्मको कारोबार र थोरैमा गत वर्ष बन्दाबन्दीका कारण रु ८० लाख बराबरको कारोबार गर्नुभएको छ । यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा बिक्रीका लागि अहिले समस्या नभएको उहाँले बताउनुभयो । “थोरैथोरै उत्पादन हुने र बिक्री गर्नका लागि समस्या हुने रैछ, त्यस्तो अवस्थामा बजार मूल्य पनि राम्रो नपाइने हुँदोरहेछ”, उहाँले भन्नुभयो, “गाउँगाउँमा रहेका फार्म तथा व्यक्ति–व्यक्तिबाट सङ्कलन गरी एकमुष्ट बिक्री गर्दा बजार दिगो हुने भएकाले व्यवसायी खोजीखोजी आउने गरेका छन् ।”

यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा काठमाडौँ तथा पोखरामा खपत हुने गरेको छ । उहाँले भन्नुभयो “कामलाई सानो ठूलो नभनी फरक तरिकाले गर्नसकिएमा सफल भइन्छ । ” गल्याङ नगरपालिकाले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएपछि अहिले फार्म खुल्ने क्रम वृद्धि भएकोे बताउनुभयो । विशेष गरी विदेश गएर फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हुँदै गएको देखिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।