३० रोपनी जमीनमा बन्दाखेती गर्दै मनग्य आम्दानी

रमेश केसी ,बझाङ, १३ भदौ । बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

परम्परागत तरिकाले अन्नबाली गर्दै आउनुभएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उहाँले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै आएका हुन् । उहाँ बन्दाखेतीबाट गाउँमा सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुभएको छ ।

केही वर्ष पहिले खेतमा अरु किसान झैँ खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायत अन्नबाली लगाउने गर्नुभएका उहाँ यसबाट परिवारको खर्च धान्नसमेत मुस्किल भएपछि अहिले बन्दाखेती गरिरहनुभएको छ । कृषि ज्ञान केन्द्र बझाङले बन्दाखेतीका लागि धामीलाई १०० पाकेट बन्दा निःशुल्क वितरण गरेको थियो । धामीको खेतबारीबाट उत्पादित बन्दागोभी नजिकैको होटल र अन्य ठाउँमासमेत बिक्री हुने गरेका छन् ।

“बन्दागोभीबाट वार्षिक करिब दुई लाख कमाई हुन्छ”, उहाँले भन्नुभयो, “ यसको खेतीबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको छु ।” अब केही दिनमै १०० क्विन्टल बन्दा स्थानीय बजारमा पठाउने तयारीमा आफू रहेको उहाँको भनाइ छ । “अब यो क्षेत्रमा लागिसकेँ । राम्रै गरौँला भन्ने लागि राखेको छ”, उहाँले भन्नुभयो, “बजारमा बन्दाको माग बढ्दै गएपछि यसको उत्पादनलाई पनि क्रमशः बढाउँदै लगेको छु ।” कृषि ज्ञान केन्द्रबाट प्रोत्साहन पाएपछि तरकारी खेतीमा उत्साह बढेको उहाँको भनाइ छ । अरुले तरकारी खेती लगाउन सुरु गर्दा आफूले तरकारी बेच्न शुरु गरेको धामीले बताउनुभयो ।

तरकारी ढुवानीका साधन नहुँदा र बजार नपाउँदा विगतमा निकै सास्ती खेप्दै आउनुभएका धामीलाई कृषि ज्ञान केन्द्रले ढुवानीको व्यवस्था मिलाइदिएपछि अहिले सजिलो भएको छ । तरकारी खेतीमा लागेका किसानलाई केन्द्रले ढुवानीका लागि सहजता प्रदान गर्न निगालोका डोका खरिद गरेर वितरण गरिएको र बन्दा राखिएको सो डोकालाई ट्र्याक्टरमा राखेर बजारसम्म पु¥याउने व्यवस्था गरेपछि सहजता भएको उहाँको भनाइ छ ।

केन्द्रका प्रमुख टेकबहादुर विष्टले गाउँमा तरकारी खेतीको विस्तार र यसको ढुवानी तथा बजारीकरणका लागि केन्द्रले सक्दो सहयोग गरिरहेको बताउँदै यहाँबाट उत्पादन भएका बन्दा सङ्कलन गरी अन्य जिल्लामा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तरकारीको व्यावसायिक उत्पादनका लागि केन्द्रले किसानलाई गुणस्तरीय बीउ निःशुल्क उपलब्ध गराइने योजना बनाएको छ ।”

तरकारी खेतीका लागि यान्त्रिकीकरणमा जोड दिइने बताउँदै उहाँले आधुनिक ढङ्गले तरकारीखेती गर्नेतर्फ किसानलाई प्रोत्साहन र तालिम प्रदान गरिने बताउनुभयो । विशेषगरी महिला किसानलाई व्यावसायिक रुपमा तरकारी उत्पादनमा लाग्न प्रोत्साहन दिइने कार्यलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

धामीले तरकारी खेतीबाट सहजै आम्दानी गरिरहेको देखेपछि लोभिएर अरु किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् । “तरकारीको बजारमा माग उच्च छ, ताजा तरकारी लिन साहु घरमै आइपुग्छन्” धामीले भन्नुभयो, “आफ्नो खेतमा उत्पादन भएको तरकारी सङ्कलन गरेर साहुलाई एकमुष्ट दिने गरेको छु ।”

तरकारी ठूलो परिणाममा लगाउँदा अचम्म मान्ने गाउँमा अचेल तरकारी खेतीकै लहर चलेको छ । अहिले गाउँमा अन्य किसान पनि तरकारी खेतीमा जुटेका छन् । “बन्दाखेतीबाट राम्रै आम्दानी भएपछि जागर चलेको छ”, उहाँले भन्नुभयो, “तरकारी खेतीको आम्दानीबाट घरपरिवार चलेको छ, आजसम्म निराश हुनु परेको छैन् ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।