नाम्खाका गापाका अध्यक्ष भन्छन्- ‘मेरो क्षेत्रमा चीनले सीमा मिचेको छैन, अनावश्यक राजनीति गरियो’

काठमाडौं, २७ भदौ । हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको भनिएको विषयमा अध्ययन गर्न गृह मन्त्रालयको टोली सिमिकोट पुगेको बेला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने त्यसलाई अस्वीकार गरेका छन् ।

सीमा विवादका बारेमा परराष्ट्र मन्त्रालयले यसअघि नै प्रस्ट पारिसकेको जनाउँदै अध्यक्ष लामाले सरकार परिवर्तन पिच्छे सीमा विवाद ल्याएर कुटनीतिमा असर पारेको भन्दै असन्तुष्ट जाहेर गरेका छन् ।

‘मेरा गाउँपालिका भएकाले विवाद उठेपछि म आफैँ उपस्थित भएर स्थलगत अध्ययन गरेको थिएँ, त्यहाँ कुनै सीमा मिचिएको कतै पनि देखिएन,’ अध्यक्ष लामाले न्युज कारखानासँग भने, ‘तत्कालिन प्रजिअ र मसहित गएर अध्ययन गरेर सीमा नमिचिएको प्रतिवेदन सरकारलाई दिएका थियौं, त्यही प्रतिवेदन अनुसार परराष्ट्र मन्त्रालयले यसअघि नै धारणा बनाई सीमा नमिचिएको प्रस्ट पारिसकेको छ, अहिले फेरि विवाद निकालेको देख्दा अचम्म लागेको छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वमा हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । सो बारेमा अध्ययन गर्न आचार्यको नेतृत्वमा टोली शनिबार सिमिकोट पुगेको छ । यो टोलीमा गाउँपालिका अध्यक्ष लामा समावेश छैनन् ।

‘मेरै गाउँपालिकामा सीमा मिचिएको भन्दै अहिले गृह मन्त्रालयका सहसचिवको नेतृत्वकोे टोली सिमिकोट पुगेको छ, मलाई सहजीकरण गर्न अनुरोध गरियो तर मैले मिच्दै नमिचेको सीमामा अध्ययन गर्न किन जाने भनेर गइन,’ उनले भने, ‘सीमाजस्तो कुरा पनि सरकार फेरिए पिच्छे फरक-फरक हुन्छ र ? यस्तो गम्भीर विषयमा खेलाँची गरिरहने मिल्छ र ? ’

यसअघि नै सरकारले प्रस्ट पारिसकेका उल्लेख गर्दै अध्यक्ष लामाले सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

उनका अनुसार सन् १९६२ मा नेपाल र चिनियाँ दुबै पक्षबीच भएको सहमति अनुसारको भूमि नेपालतिर नै रहेको र चीनले आफ्नै भूमिमा संरचना निर्माण गरेको छ । ‘सन् १९६२ मा सीमाका बारेमा जुन सम्झौता भएको थियो, त्यो नक्सासँग दाँजेर अहिले हेर्दा पनि चीनले भूमि मिचेको अलिकति पनि देखिदैन,’ लामाले न्युज कारखानासँग भने, ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरि र मसहित गएको टोलीले अध्ययन गर्दा नमिचिएको देखेपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएका हौं ।’

उनका अनुसार नेपालका प्रजिअ र चिनियाँ पक्षबीच प्रत्येक वर्ष सीमा र सीमा सुरक्षाका बारेमा छलफल हुने गरे पनि कोभिड-१९ का महामारीका कारण त्यो छलफल दुई वर्षदेखि रोकिएको छ ।

उनका अनुसार नाम्खा गाउँपालिका-५ र ६ वडाका १२ नम्बर पिलर र त्यो भन्दा २७ किमी पर रहेको ११ नम्बर पिल्लरका बारेमा विवाद देखिए पनि स्थलगत अध्ययनमा त्यस्तो नभएको उनको दावी कायमै छ । ‘पानी ढलोलाई सीमा मानिएको छ, १९६२ को नक्सा र अहिलेको स्थान हेर्दा पनि कुनै फरक छैन, चीनले आफ्नै भूमिमा संरचना बनाएको छ,’ उनले अगाडि भने, ‘सरसर्ती हेर्दा र नक्सासँग जुधाउँदा कुनै विवाद गर्नुपर्ने देख्दिन तर सरकारको काम हो, गरेर केही प्रतिवेदन त देला ।’

गाउँपालिका अध्यक्ष लामासँग गरिएकाे थप कुराकानी
तपाईँको गाउँपालिकामा चिनियाँ पक्षले सीमा मिचेको भन्दै टोली सिमिकोट पुगेको छ, तपाईँसँग कुराकानी भयो ?
-गृह मन्त्रालयले बनाएको टोली सिमिकोट पुगेको छ, मलाई सहजीकरण गर्न सम्पर्क गरेका थिएँ तर पहिला नै टुंग्याएको विषय भएकाले तपाईँहरू जानुहोस्, म आउन भ्याइएन भनिदिएको छु ।

तपाईँ किन नजानु भएको त ?
-म काठमाडौंमा छु, यता मेरो काम पनि छ ।

तपाईँको गाउँपालिकामा सीमा मिचिएको छ, तपाईँचाहिँ काठमाडौंमा नै बस्नु भएको छ, ध्यान दिनु पर्ला नि ?
-सीमा विवादका बारेमा पहिला नै कुरा उठेपछि तत्कालीन प्रजिअ चिरञ्जीवि गिरिको नेतृत्वमा स्थलगत अध्ययन भएको थियो, म पनि गएको थिएँ । तर सरसर्ती हेर्दा र सन् १९६२ मा भएको सम्झौता अनुसार नक्सा जाँच गर्दा सीमा मिचिएको देखिएन । सीमा मिचिएको प्रमाण नपुगेपछि त्यो प्रतिवेदन संघ सरकारलाई पठाइएको थियो, लगत्तै सरकारले हुम्लामा चीनसँग सीमा विवाद नभएको प्रस्ट पारेको थियो ।

भनेपछि तपाईँ ढुक्क हुनुहुन्छ कि सीमा मिचिएको छैन ?
-स्थलगत अध्ययन गरेर सरसर्ती हेर्दा र पुरानो नक्सामा टेकेर अध्ययन गर्दा सीमा मिचिएको देखिँदैन, म गाउँपालिकाको अध्यक्ष, म मिचिएको प्रमाण कतै पनि देख्दिन । अब सीमाजस्तो कुरामा सरकार पिच्छे फरक धारणा बनाउने काम भयो, यो चाहिँ लाजमर्दो नै छ ।

त्यसो भए अहिले अध्ययन समिति बनाएकोमा सन्तुष्ट हुनुहुन्न ?
-सन्तुष्टी र असन्तुष्टीको कुरा होइन, सीमाजस्तो विषयमा एउटा सरकारको एउटा धारणा र अर्को सरकारको अर्को धारणा हुन्छ र ? सरकार फेरिए पिच्छे सीमा फेरिँदै जाने हो र ? यो त पूरै कच्चा काम भयो ।

खास विवाद के विषयमा हो ?
-म सीमा विवाद छ भन्ने नै मान्दिन, यो त बलझफ्ती ल्याएको विषय हो । यसमा राजनीति गर्न खोजियो ।

खास के हो त ?
-म त्यहाँको गाउँपालिकाको अध्यक्ष अनि मेरै वडाका ५ र ६ को सीमा मिचिएको भनिएको छ, म मिचिएको देख्दिन, यता मिचिएको भनि रहन्छन्, अब के गर्ने ?

विवाद पहिलेदेखि नै थियो कि ?
-प्रत्येक वर्ष हुम्लाका प्रजिअ र चिनियाँ पक्षबीच सीमा र सीमा सुरक्षाका बारेमा द्वीपक्षीय बैठक हुन्थे, अहिले कोभिडका कारण दुई वर्षदेखि हुन सकेको छैन ।

सरकारी अध्ययन टोलीलाई सहयोग गरेको भएँ हुन्थ्यो नि ?
-हामी मिचेको देख्दैनौं, त्यही अनुसार प्रतिवेदन दियौं । अहिलेको सरकारले मिचिएको छ भनेर अध्ययन टोली बनायो । सो टोली सिमिकोट पुगेको छ, अध्ययन गरेर फर्केपछि केही त निस्कर्ष देला नि त ? प्रतिक्षा गरौँ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।