तिन जनता तिन बस
विराटनगर, ४ असाेज । मोरङको बेलबारीका केही सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि स्कुल बस संचलनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तीनवटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् ।
जनता माध्यमिक विद्यालय बेलबारी-१ र जनता माध्यमिक विद्यालय बेलबारी-८ ले दुई वटा बस राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका छन् भने जनता मावि बाहुनि बेलबारी – ९ ले नमुना विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका हुन् ।
यस्तै बेलबारी – ८ वलुवाईको एक सामुदायिक विद्यालयले भने आन्तरिक कोषबाट आफै बस खरिद गर्न लागेकाे छ । शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाका अनुसार बस विद्यालयले आफै खरिद गरेका हुन् ।
नगरपालिकाले समन्वय गरेर स्रोत जुटाइदिएपछि विद्यालयहरूले आफै बस खरिद गरेका हुन् । सामुदायिक विद्यालय प्रति विद्यार्थी र अविभावकको आकर्षण बढ्न थालेपछि विद्यार्थीलाई सहुलित दिनका लागि बिद्यालयहरुले बसको सेवा थपेका हुन । बिद्यार्थिहरुको चाप बढेपछि बिद्यालय बस संचालनमा ल्याइएको जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक जनक घिमिरेले बताए ।
सामुदायिक विद्यालयलाई अझ बढी प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा शिक्षक दरबन्दी मिलानदेखि दुई विद्यालयलाई एकीकृत समायोजनसम्मको काम सकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएकाले सोहीअनुसार कार्ययोजना तयार गरी लागू गरिएको नगरपालिकोको कार्यालयले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ५ को परिक्षा समेत नगरपालिकाले आफै गराइरहेको छ । कक्षा ८ को परीक्षासमेत एसईईको नमूनाअनुसार होमसेन्टरबाहेकको परीक्षा केन्द्र निर्धारण गरी कापी परीक्षणमा समेत कोड–डिकोड गरी कापी परीक्षण एक आर्का विद्यालयको विषय विज्ञद्वारा परीक्षण गराउने गरीएको शिक्षाशाखा प्रमुख कोइरालाले बताए ।


