अन्योलबीच विद्यालय खुल्दै

सुशील दर्नाल/शर्मिला पाठक । काठमाडौँ, ९ असोज (रासस) : विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उहाँका छोराछोरी गाउँ गएका हुन् ।

ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै हुनुहुन्छ । दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै उहाँका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निणर्यले भने उहाँ अन्योलमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दशैँ शुरु हुन हप्ता दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौँ ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भइरहेको छ ।”

काठमाडौँको वसन्तपुर निवासी यशोदा थापाले पनि दशैँ अगाडि छोटो समयका लागि भौतिक उपस्थितिमा भन्दा पनि आफ्ना छोराछोरीको पठनपाठन अनलाइनका माध्यमबाट घरबाटै गराउन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ?” उहाँले कोरोनोको तेस्रो लहर आउने र त्यसबाट बालबालिका नै बढी सङ्क्रमित हुने भनिरहेका सन्दर्भमा सरकारले बालबालिकालाई खोपको व्यवस्था गर्न ढिलाइ गरिरहेको भन्दै गुनासो गर्नुभयो । कोरोना भाइरस महामारीको त्रास कम नभएको र दशैँ शुरु हुन एक हप्तामात्रै बाँकी हुँदा सरस्वती र यशोदा मात्रै होइन, विद्यालय खोल्ने निणर्यले धेरै अभिभावक थप दोधारमा छन् ।

महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निणर्य बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निणर्य गरिएको थियो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निणर्य गरेको थियो ।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।

स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले भन्नुभयो, “सामान्यतया सङ्क्रमण घटेको छ, तर मानिसको लापरवाहीका कारण जोखिम थप चुलिँदो छ, यस्तो अवस्थामा विद्यालय खोल्नु हुँदैन ।” उहाँले कम्तीमा पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निणर्य लिनुपर्ने बताउनुभयो । कोरोना सङ्मणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूणर् सावधानीको आवश्यकता उत्तिकै रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले स्थानीय तहले आ-आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निणर्य भएको टिप्पणी गर्नुभयो । कोरोना त्रासकै बीच केही दिनअघि कैलालीका केही विद्यालय पुनःसञ्चालनमा आए पनि अहिले बन्द गर्न थालिएको उदाहरण दिँदै उहाँले अहिले सहरी क्षेत्रका विद्यालय धमाधम खोलेर विद्यार्थीमा थप सङ्क्रमण बढेमा त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीको त्रास कायमै छ, वडा दशैँ आइसक्यो, धेरै विद्यार्थी र अभिभावक दशैँपछि फर्किने योजनामा गाउँमै छन, स्वास्थ्य मन्त्रालयको भनाइलाई उल्लङ्घन गर्दै विद्यालय खोल्नु थप जोखिम निम्त्याउनु हो ।”

सरुवा रोग विशेषज्ञ डा सागर राजभण्डारीले पछिल्लो समय फेरि केही मात्रामा कोरोना सङ्क्रमण बढ्दै गएको हुँदा अहिलेकै अवस्थामा विद्यालय खोल्नु उपयुक्त नहुने धारणा राख्नुभयो । “उपत्यका बाहिरका ग्रामीण भेगका थोरै विद्यार्थी रहेका विद्यालय सञ्चालनमा ल्याए पनि घना बस्ती भएका सहरी क्षेत्रका विद्यालय पुनःसञ्चालनमा ल्याउने समय भएको छैन, त्यसका लागि कम्तीमा तिहारसम्म हेर्नुपर्छ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकाभित्रकै थिमि नगरपालिकाले मुख्य चाडवाड नजिक आइरहेको र त्रास पनि कायमै रहेकाले दशैँअघि विद्यालय नखोल्ने जनाएको छ ।

ललितपुर महानगरपालिकाले यही असोज १ गतेदेखि नै विद्यालय सञ्चालन गर्न अनुमति दिए पनि कोरोना त्रासका कारण पूणर्रूपमा विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । सो महानगरपालिकाका उपप्रमुख गीता सत्यालले विद्यार्थीको सङ्ख्या बढी भएका विद्यालय भौतिकरूपमा अझै पनि सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “तुलनात्मकरूपमा ५० प्रतिशत विद्यालयमात्रै सञ्चालनमा आएका छन्, पूणर्रूपमा सञ्चालनका लागि कम्तीमा दशैँ तिहारसम्म कुर्नुपर्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।