विदेशी पर्यटकले चार्टर्ड विमान ल्याएपछि सञ्चालनमा आयो मनाङको हुम्दे विमानस्थल

नवीन लामिछाने/ मनाङ, १४ असोज । लेक लाग्ने स्थान (हाइ अल्टिच्युड)मा रहेको हुम्दे विमानस्थलमा आज विमान अवतरण गरिएको छ । केही विदेशी पर्यटकले आज यहाँ चार्टर्ड विमान ल्याएपछि सो विमानस्थल चलायमान हुने आशा बढेको छ । बाढीपहिराका कारण सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएपछि आज हुम्दे विमानस्थलमा जहाज अवतरण गरेको हो । बिहीबार यहाँ समिट एयरको चार्टर्ड जहाजमा विदेशी पर्यटक पुगेका हुन् ।

बिहीबार बिहान २८ अपाङ्गता भएका व्यक्ति पर्यटक मनाङ आइपुगेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार ती पर्यटकका ४५ नेपाली सहयोगी भने सडक सञ्जालमार्फत मनाङ आउँदै गरेका छन् ।

विश्वको १०औँ नम्बरमा पर्ने ५४१६ मिटर उचाइमा रहेको थोराङ्ला पास गरी मुक्तिनाथ हुँदै अन्नपूर्ण पदमार्गको यात्रा पूरा गर्ने तयारीका साथ चार्टर्डको समिट एयरको जहाजमार्फत उनीहरु मनाङ आइपुगेका हुन् ।

समिट एयरको जहाजले १५ जनाका दरले तीन उडान भर्ने तयारी गरेपछि मौसम अनुकूलताका कारण तेस्रो उडान भर्न नसकेको उक्त विमानस्थलका कर्मचारी विश्व शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार फरक क्षमताका ४५ पर्यटक आउने तयारी भएको थियो ।

“इजरायली र भारतीय फरक क्षमता (अपाङ्गता भएका) विद्यार्थी आइपुग्नुभएको छ । उहाँहरु ह्विल चियरको सहयोगमा थोराङ्ला पास गर्नुहुनेछ”, प्रजिअ लामिछानेले भन्नुभयो । “उहाँहरुले सडक सञ्जाल सहज नभएकाले समिट एयरको जहाज चार्टर्ड गरी मनाङ आउनुभएको हो । उहाँहरु चार्टर्ड गरी जहाज आउने भएपछि हाल सञ्चालनमा नरहेको विमानस्थल पनि अब चलायमान बनाएको छ ।” उहाँका अनुसार हुम्दे एयरपोर्टमा झरेका पर्यटक फरक क्षमता भएका हुन् र उनीहरु ह्विलचियरमा नै थोराङ्ला पास गरी मुक्तिनाथ पुग्नेछन् ।

पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा विसंं २०५९ मा सञ्चालनमा आएको एयरपोर्ट सडक सञ्जालसँग जोडिएपछि ठप्प भएको थियो । उक्त एयरपोर्टमा विगतमा ट्वीनअटर जहाजमात्रै चल्ने गरेको थियो तर मनाङ सडक सञ्जालसँग जोडिएपछि एयरपोर्ट अवरुद्ध भएको हो । ट्वीनअटर र पाइलटसमेत पाउन मुस्किल भएपछि एयरपोर्ट बन्द भएको पूर्वमन्त्री गुरुङ बताउनुहुन्छ ।

“सडक सञ्जालमा जोडिएपछि मनाङ आउने पर्यटकले सडकको प्रयोग गर्न थाले । पर्याप्त मात्रामा पर्यटक पनि नहुने हुँदा चलाउन समस्या भएको हो । हालसम्म समिट एयरको जहाजबाहेक अन्य कम्पनीको जहाज मनाङ पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “हाइ अल्टिच्युडका कारण पनि अन्य कम्पनीका जहाजले उडान भर्न सकेका छैनन् ।”

हुम्दे एयरपोर्ट सञ्चालनका लागि पर्यटन बोर्डसँग समन्वय गरी पटक–पटक पलह गर्ने कोसिस गरे पनि सरकारले ठूला विमान उडाउन नखोजेको उहाँ बताउनुहुन्छ । निजी कम्पनीले पनि मनाङको हुम्दे एयरपोर्टमा उडान भर्न नचाहेको उहाँले बताउनुभयो । हाइअल्टिच्युडका कारण उक्त एयरपोर्टमा उडान भर्न समस्या भएको बताइएको छ ।

ठूला जहाज उडान भर्न भने समस्या भएको प्रजिअ लामिछानेले बताउनुभयो । हाइ अल्टिच्युडका साथै ठूला जहाजले उडान भर्न सकस मान्ने गरेको बोर्डले जनाएको छ । त्यसमाथि सडक सञ्जालसँग जोडिएपछि पर्याप्त मात्रामा यात्रु पाउन मुस्किल भएकाले एयरपोर्ट चलायमान हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

सडक सञ्जालसँग मनाङ जोडिनु र पर्यटकलाई जहाजभन्दा सडक सञ्जालमार्फत आवतजावतमा कम मूल्य पर्ने भएपछि पनि यहाँ जहाज चलाउन नसकिएको हो । हुम्दे एयरपोर्ट विसं २०५९ मा एयरपोर्ट कालोपत्र भएपछि चल्न नसकेको बताइएको छ । गण्डकी प्रदेश सरकारले विसं २०७६ भदौ २६ मा सफल परीक्षण उडान गरेको थियो ।

बाढीपहिराले सडक सञ्जालमा क्षति पु¥याएर सञ्चालन हुन नसकेको अवस्थामा अब यो विमानस्थललाई निरन्तर गर्न सकिएमा स्थानीयवासीसँगै पर्यटकको आवतजावत र सामग्री ढुवानीमा सहज हुने स्थानीयवासीको भनाइ छ । अहिले पनि यहाँको सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । सडक सञ्जाल अवरुद्ध भएकाले मनाङवासीले सास्ती खेप्नुपरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।