दशैँतिहारको विदामा पनि विद्यालय सञ्चालन हुने
तेह्रथुम, १७ असोज । जिल्लाको मेन्छ्यायेम गाउँपालिकाले दशैँतिहारबीचको बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा असर पुगेकाले गाउँपालिकामा रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले बताए ।
मेन्छ्यायेम गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

यात्रुलाई मास्क बाँड्दै प्रहरी दिवस मनाइयो
कपिलवस्तु, १७ असोज/प्रहरी दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ अर्घाखाँची चोकमा मास्क वितरण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सार्वजनिक बसमा यात्रा गर्ने तथा पैदल यात्रुलाई मास्क वितरण गरिएको थियो । आइतबार १० बजेदेखि सञ्चालन गरेको कार्यक्रममा ३ सय यात्रुलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।
दसैँको चहलपहलसँगै यात्रुहरूले मास्कबिना यात्रा गरेको हुँदा कोरोना सङ्क्रमण निरुत्साहित गर्नका लागि मास्क वितरण गरिएको बताइएको छ । सर्वसाधारणलाई जनचेतना सम्बन्धी पम्पलेटसमेत वितरण गरिएको थियो । ६६औँ प्रहरी दिवसको अवसरमा जिल्लामा प्रहरीले कोभिड नियन्त्रण र सचेतनाका कार्यक्रम गरी मनाउँदै आएको छ ।


