दसैंलाई मगाएको सामान तिहारपछि मात्रै आउने

रसुवा, २० असोज/कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज बनाउन व्यापारीहरूले सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुधार हुन सकेको छैन ।

नेपालको रसुवागढी नाकाबाट चीनले अहिले कोटा प्रणालीअनुसार दैनिक नौ कन्टेनर सामग्री पठाइरहेको छ । यो सामग्री निकै कम भएको व्यापारीहरूले गुनासो छ । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार चीनबाट नेपालतर्फ सहज रुपमा आयात नहुँदा अर्बौको सामान चीनमै रोकिएका छन् । दैनिक आयात हुने कोटा नबढेपछि दसैंैका लागि मगाएको सामान दसंै अगाडी आउने सम्भावना नभएको उनको भनाइ छ ।

चीनबाट नेपाल आयात गर्ने १० भन्दा बढी ट्रान्सपोर्ट छन् । जसमध्ये मुसा ट्रान्सपोर्टको मात्रै ६ हजारभन्दा बढी सिबियम सामान चीनको केरुङमा रोकिएको पौडेलले बताए । ‘मैले मुसा ट्रान्सपोर्ट इन्टरनेशनल लजेस्टी केरुङका अफिस म्यानेजर जामिलसँग फोनमा कुरा गरेको थिए । उनले व्यापारीले छिटो सामान पठाउन दबाब दिइरहेको छन्,’ उनले भने, ‘तर, पर्याप्त सामान पठाउन नसकेको उनले बताएका छन् । यस्तै अवस्था रहे अब नयाँ सामानको डेलिभरी पनि रोक्ने उनले बताए ।’

उनले बिल्टीको डेट हेरी नयाँ सामान रोकी पुरानो सामान पठाएको बताएको व्यापारी पौडेलले बताए । सम्भवत १५ अक्टोबरसम्मको बिल्टीलाई प्राथमिकता दिई सामान पठाउने तयारी गरेको उनले बताए । उनले भने, ‘चिनियाँ एउटा गाडीमा ६० देखि ६५ सिबियम सामान नेपाल आउँछ, ट्रासपोर्टहरूको सामान धेरै छ, कसको सामान टाइममा आइपुग्ला भन्ने ठेगान छैन ?’

चीनको केरुङबाट रसुवागढी नाकासम्म सामान ल्याउने ४६ वटा चिनियाँ कन्टेनर छन् । जसमध्ये दैनिक नौवटा चिनियाँ कन्टेनरले सामान ल्याइरहेका छन् । सिजनअनुसारको सामान ल्याए पनि तोकिएको समयमा सामान नेपाल आइनपुगेको व्यवसायीहरूले बताएका छन् । पौडेलले भने, दसैंको सामान तिहारपछि र जाडोको सामान गर्मीमा आउँछ, सिजनअनुसारको सामान ल्याउन समस्या भएको छ ।’

चीनको सामान नेपाल आइपुग्न कम्तीमा तीन महिना
कोरोना संक्रमणअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीहरूका अनुसार चीनको गोन्जाओबाट ल्याएको सामान नेपालमा २० देखि २३ दिनभित्र आइपुग्छ । तर अहिले नेपाल सामान आइपुग्न तीन महिनाभन्दा बढी लाग्ने गरेको छ ।

सरकारले भने अहिले नाकामा भइरहेको समस्या समाधानको पहल भइरहेको जनाए । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार नाकाबाट सहज रुपमा सामान आयात बढाउन पहल भइरहेको छ । चिनियाँ पक्षसँग सीमास्तर तथा उच्च स्तरबाट पहल भइरहेको छ । उनले चीनले राखेको कोटा प्रणाली हटाउने, हुक एण्ड ड्रप प्रणाली लागु गर्ने लगायतका बिषयमा पहल भइरहेको जानकारी दिए ।

गत बिहीबार पनि महावाणिज्यदुत नवराज ढकालले फलो–अपको रुपमा तिब्बत परराष्ट्र कार्यालयका निर्देशक छुकी ढोमा र तिब्बत वाणिज्य विभागका निर्देशक देबेईसँग रसुवागढी र तातोपानी नाकाबाट सहज रुपमा सामान आयात बढाउन छलफल गरेका थिए । छलफलपछि रसुवागढी नाकाहुँदै दैनिक १२ देखि १४ कन्टेनर सामान नेपाल पठाउन चीन तयार भएको छ । यसका लागि नेपालले हालको समयभन्दा एकदेखि दुई घण्टा अगावै काम सुरु गर्नु पर्ने भएको छ भने आवश्यक कामदारको व्यवस्था गरी कार्यदक्षता वृद्धि गर्नुपर्ने छ ।

नेपालमा कोटा बढाउन काम भइरहेको छ : चीन
नेपाल आउने ट्रकहरूको संख्या बढाउन रसुवागढी नाकामा सप्ताहन्तमा पनि काम भइरहेको चिनियाँ पक्षले जनाएका छन् । पछिल्लो समय रसुवागढी नाकामा भएका गलत अभ्यासलाई निरुत्साहन गर्न वाणिज्य विभागको पहलकदमीमा नम्बरिङ सिस्टमलगायत विभिन्न सुधार थालिएको जनाइएको छ ।
यसैगरि तातोपानी नाकाबाट पनि नेपाल भित्रने ट्रकको संख्या बिस्तारै बृद्धि भइरहेको र दैनिक २० वटासम्म पुर्याउने चिनियाँ पक्षले जनाएको छ । यसका लागि नेपालतर्फ कामदारहरूको संख्या बढाउन, काम छिटो छरितो गर्न तथा सडक बिग्रने लगायतको समस्या तत्काल समाधान गर्न नेपालले आवश्यक तयारी गर्नुपर्ने चिनियाँ पक्षको सर्त छ ।

कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । चीनले १५ माघ ०७६ देखि २२ जेठ ०७७ सम्म नाका बन्द गरेको थियो । त्यसपश्चात चीनले रसुवागढी नाका एकतर्फी रुपमा सन्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भु–भागमा सामान ल्याइदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड अनलोड गर्न समेत स्वास्थ्यका मापदण्ड अपनाउँनु पर्छ । अहिले रसुवागढी नाकाबाट विशेषगरी रेडिमेड कपडा, इलेक्ट्रोनिक्स लगायतका सामग्री भित्रिने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।