मध्यपहाडी राजमार्गको काम ९५ प्रतिशत सकियो, माघसम्म सबै काम सकिने

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।

पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ ।

फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ । कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ ।

याम्दीदेखि सुुइखेतसम्म छ किमी र सुइखेतदेखि घट्टेखोला ६ किमी २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो ।

सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी)राजमार्ग आयोजनाका इञ्जिीनियर अनन्त बरालले जानकारी दिए ।

सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उनले बताए ।

आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ ।

इञ्जिीनियर बरालले भने, “सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर यस आयोजनाको बाँकी काम त्यस भन्दा अघिनै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ ।”

असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहेपनि नियमितजस्तो वर्षा भएकाले काम सुरु गर्न नसकिएको बताइन्छ ।

सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ ।

त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिीनियर बरालले बताए । विसं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तका कारणले काममा ढिलाइ भएको गुनासो स्थानीयवासीले गर्ने गरेका थिए । विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित बनेका छन् ।

सो खण्ड ३० मिटर फराकिलो छ । निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि विसं २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो ।

“गत आर्थिक वर्षको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो,” इञ्जिीनियर बरालले भने, “तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजना निर्धारित समयमा पूर्णता पाउन सकेन ।”

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत÷सीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ ।

जसमा घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन ।

आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग ९८ करोड ७९ लाख ६१ हजार ४१५ रुपैयाँमा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।