चीनबाट आए १२ सिट क्षमताका २२ विद्युतीय माइक्रोबस
रसुवा, ११ कात्तिक । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पाङ्ग्रा होचा भएका कारण कच्ची सडकमा गुडाइ काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् । रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ । दसैँ अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवं सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ ।
सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ । आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जनाएको छ । आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रु ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् ।(रासस)
यो पनि पढ्नुहोस्….
आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस
भक्तपुर, ११ कात्तिक (रासस) : पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।
एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आजदेखि बन्द सत्र सुरु गरिने बताउनुभयो । चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाउँदै सहमति हुन नसके प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनबाट नेतृत्व चयन गरिने बताउनुभयो ।
एमाले चाँगुनारायण नगर कमिटीमा बन्द सत्र सुरु भएपछि नगर प्रमुख सोम मिश्रदेखि अधिकांश जनप्रतिनिधि, पार्टी अध्यक्ष देउजालगायत नेताले बुधबारसम्म पनि सहमतिको प्रयास गरेको तर सहमति हुन नसकेको प्रतिनिधिले जानकारी दिएका छन् । यता सूर्यविनायक नगर कमिटीको बन्द सत्रमा पनि साँझ ६ बजेसम्म सहमतिको प्रयास जारी राखे पनि सहमति हुन नसकेको प्रतिनिधिले बताएका छन् । सबै वडाबाट २७५ प्रतिनिधि छनोट भएर आएकामा नगर अधिवेशनका ७५ सिटका लागि सबैले उम्मेदवारी फाराम भरेपछि थप समस्या भएको जनाइएको छ ।
चारवटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपर्नुभएको छ । एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ । त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन् । सोमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।


