अन्तर पालिका “पाख्रीबास कप” फुटबलमा आज सेमिफाइनलका दुई खेल हुंदै
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ को खेल मैदानमा अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ कार्तिक १० बाट सुरु भएको छ ।पाख्रीबास युथ युनाइटेडको आयोजनामा भइरहेको प्रतियोगिता भोलि कार्तिक १३ सम्म संचालन हुनेछ । प्रतियोगितामा जिल्लाका सातै वटै पालिका र आयोजक टीम समेत गरि ८ टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो दिन भएको खेल पाख्रीबास नगरपालिका र सहिदभूमि गाउंपालिका बिच भएको थियो । निर्धारित समय भित्र दुबै टीमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटको आधारमा परिणाम निकालिएको थियो । जसमा सहिदभूमि गापाले पाख्रीबास नपालाई ४ का विरुद्द ५ गोल अन्तरले हराउंदै शहिदभूमि गापाले अर्को चरणमा प्रबेश गरेको थियो । त्यसैगरि हिजो दोस्रो दिनको पहिलो खेल धनकुटा नगरपालिका र चौबिसे गाउंपालिका बीच भएको छ । जस्मा १ का बिरुद्द ५ गोल लगाउंदै चौबिसे गाउंपालिका (रारा एफसी क्लब) विजयी भएको छ । खेलमा ह्याट्रिक गोल गर्ने चौबिसे गापाका जर्सी नम्बर ३२ नरेन्द्र विक अफ द म्याच घोषित भएका थिए ।
हिजै भएको दोस्रो खेल आयोजक टीम र महालक्ष्मी नगरपालिका बिच सम्पन्न भएको छ । खेलको पहिलो हाफमा महालक्ष्मी नपाका विरुद्द आयोजक टीमले ३-० को अग्रता बनाएको थियो ।खेलको दोस्रो हाफमा पनि महालक्ष्मीले कुनै गोल गर्न सकेन भने आयोजकले थप १ गोल गर्दै ४-० को अन्तरले आयोजक टीम युथ युनाइटेड विजयी भएको छ । सर्वाधिक गोल कर्ता आयोजक टीमका जर्सी नम्बर ९ पाल्देन गुरुंग म्यान अफ द म्याच घोषित भएका थिए भने तेस्रो खेलमा सांगुरीगढी गाउंपालिका(डांडा बजार) ले छथर जोरपाटी गाउंपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । सांगुरीगढीका जर्सी नम्बर ९ विवेक राई म्यान अफ द म्याच घोषित भएका थिए ।
आज प्रतियोगिताको तेस्रो दिन सेमिफाइनल अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेल चौबिसे गापा(रारा एफसी क्लब) र सहिदभूमि गापाका बिच हुनेछ भने दोस्रो खेल आयोजक टीम र सांगुरीगढी गापा(डांडाबजार) बिच हुनेछ भने प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । विजेता र उपविजेता टीमले क्रमश : रु एक लाख र पचास हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
यो पनि पढ्नुहोस्….नेपाल विश्वविद्यालयको रणनीतिक योजना कार्यशाला सुरु
नवलपुर, १२ कात्तिक (रासस) : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले विश्वविद्यालयका लागि जग्गा प्राप्ति तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारका तर्फबाट साथ, सहयोग र समर्थन रहने बताउनुभयो । उहाँले देशका मात्रै नभएर विदेशका विद्यार्थीलाई समेत आकर्षण गर्ने गरी स्थापना हुनलागेको विश्वविद्यालय स्थापनाका लागि शुभकामना दिनुभयो । कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले नेपालको पठनशैली पुरानो भएकाले अब नयाँ प्राविधिक विषयवस्तुसहितको शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो ।
गैँडाकोटमा विश्वविद्यालय बन्ने कुराले उत्साही बनाएको जनाउँदै माथेमाले एसियाकै नमूना बन्ने गरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अब आउने विद्यार्थीलाई विश्वविद्यालयले थेग्ला वा उनीहरुको आवश्यकता पूर्ति गर्ला भन्ने प्रश्न रहेको बताउनुभयो । नेपाल विश्वविद्यालय विकास समितिका अध्यक्ष डा अर्जुन कार्कीले सम्भाव्यता अध्ययन गर्न बनेको कार्यदलले गैँडाकोटमा विश्वविद्यालय सम्भव रहेको र गैँडाकोटले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरिसकेपछि त्यसलाई साकार पार्न जोडिन आएका सुनाउनुभयो ।
सरकारले नेपाल विश्वविद्यालय विकास समिति गठन गरी आवश्यक जनशक्ति नियुक्त गरी गठनादेशमा सूची तयार गरी जिम्मेवारी दिएकोसमेत उहाँले जानकारी दिनुभयो । यो अवस्थासम्म आइपुग्न धेरै चुनौती पार गरिसकेको जनाउँदै कार्कीले लक्ष्य प्राप्ति नहुने बेलासम्म सबै एकजुट हुनुपर्ने बताउनुभयो । नागरिक समाजका अगुवा एवं पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेले विश्वविद्यालयका विषयमा चार वर्षअघि कुरा उठेको उल्लेख गर्दै यसमा आफू पनि सहभागी हुने जानकारी गराउनुभयो ।
कार्यक्रमका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले चार वर्षअघि परिकल्पना गरिएको विश्वविद्यालय बनाउन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको जानकारी दिँदै उहाँहरुका साथै गण्डकी प्रदेशका मुख्यमन्त्रीको सहयोग गर्ने आश्वाशनले खुसी तुल्याएको बताउनुभयो । उहाँले गैँडाकोटमा विश्वविद्यालय स्थापना भएको अवस्थामा जिल्लालाई नै शैक्षिक हबका रूपमा स्थापित गर्न सकिन्छ भनी नगरसभाबाट पारित गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाको विश्वविद्यालय बनाउने अभियानले निरन्तररूपमा गति लिँदै आइरहेको छ । अनौपचारिक सरसल्लाहबाट उठान गरिएको यस अभियानले २०७४ असोज २५ गते नगरपालिकाले पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरेपछि आधिकारिक काम थालेको थियो । डा प्रमोद ढकालको संयोजकत्वमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, समाजसेवी गोविन्दराज कोइराला, शिक्षक देवराज शर्मा र युवा अभियानकर्मी करुणासागर सुवेदी सदस्य रहेको उक्त कार्यदलले तीन महिनाको अध्ययनपश्चात विसं २०७४ पुस २१ गते आफ्नो अध्ययन प्रतिवेदन नगरपालिकासमक्ष प्रस्तुत गरेको थियो ।
गैँडाकोटमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त र सम्भव दुवै ठहर गरेको उक्त प्रतिवेदनको सुझावअनुसार नगरपालिकाले अभियानलाई अङ्गीकार गर्नाका साथै असोजमा गठित समितिलाई निरन्तरता दिने निर्णय लिएको थियो । विसं २०७४ फागुनमा गैँडाकोटमा नवनिर्वाचित सङ्घीय र प्रदेश सांसद, वुद्धिजीवी तथा विभिन्न जनप्रतिनिधिको उपस्थितिमा अन्तक्र्रिया गरिएको थियो भने आगन्तुकलाई गैँडाकोटको भौगोलिक अवस्थितिको अवलोकन भ्रमण गराइएको थियो । लगत्तै डा देवेन्द्रराज पाण्डे, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा केदारभक्त माथेमा, डा अर्जुन कार्की, डा भगवान् कोइराला, डा सन्दुक रुइत, डा महावीर पुन, डा चैतन्य मिश्र, डा चिन्तामणि योगी, पूर्वअर्थसचिव रामेश्वर खनाल, वरिष्ठ आर्किटेक्ट विरेश साह, डा राम आचार्यलगायतका थुप्रै राष्ट्रिय बौद्धिक व्यक्तिको सहभागितामा छलफलसमेत गरेको थियो ।
विसं २०७४ चैत २८ गते नगरपालिकाको दोस्रो नगरसभाले नेपाल विश्वविद्यालय स्थापनाको प्रस्तावलाई अनुमोदन गर्नाका साथै समग्र गैँडाकोटको विकासको एकीकृत योजना बनाएर आफ्नो नगरपालिकालाई शैक्षिक नगरका रूपमा विकसित गर्ने र त्यहाँ बौद्धिक अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । नेपाल विश्वविद्यालय स्थापना नगर समितिले तयार पारेको अवधारणा पत्र २०७५ वैशाख २३ गते नगरपालिकालाई हस्तान्तरण गरी त्यसको अनुमोदन भइसकेको छ । अबको चार÷पाँच महिनामा विश्वविद्यालयको शिलान्यास गर्ने गरी तयारी एवं छलफल अघि बढेको छ ।


