हराउँदै देउसीभैलीको रौनक

खोटाङ, २० कात्तिक ।खोटाङको विभिन्न ठाउँमा पछिल्लो समय देउसीभैलीको रौनक हराउँदै जान थालेको छ । विशेषगरी धर्म परिवर्तन तिव्र भएका ठाउँमा देउसीभैलीको रौनक घट्दै गएको हो ।हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ बाहुनीडाँडालगायत ठाउँमा करिब एक दशकयता देउसीभैलीको रौनक हराउन थालेको हो । क्रिश्चियन धर्म अपनाउने दर बढेसँगै केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानीलगायतका वडामा देउसीभैलीको रौनकमा कमी आएको स्थानीय बताउँछन् । गाउँमा क्रिश्चियन धर्ममा लाग्नेको संख्या बढ्दै गएपछि देउसीभैलीको रौनकमा असर पुगेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, दाल्फुका स्थानीय केसीराज राईले बताए ।

किराँत, हिन्दु, क्रिस्चियन र स्वर्गीकमार्गीका रुपमा स्थानीय विभाजित बन्दै भएपछि पछिल्लो समय देउसीभैली खेल्ने समूह सानो बन्दै गएको स्थानीयको भनाइ छ । क्रिश्चियतन धर्ममा लागेपछि हिन्दू वा अन्य धर्मसँग सम्वन्धित परम्परा अस्वीकार गर्ने गरिन्छ । दशकअघिसम्म तिहार अगावै नयाँ मादल बनाउने वा पुरानो मादलको तालतुना कस्ने र खरी लगाउने गरिन्थ्यो । गाउँमा दुई तीन जोर मादल तयार पारेपछि तिहार आउनुभन्दा अगाडिदेखि नै गाउँमा घन्काइन्थ्यो, विभिन्न भाका गुञ्जिन्थ्यो । लक्ष्मीपुजाको दिनबाट भैली खेल्न थालिन्थ्यो । गाउँका चेलीबेटीको नेतृत्वमा भैली खेलिन्थेँ । लक्ष्मीपूजाको रात काटेर विहान ४ बजेपछि र भालेबासेपछि ‘देउसी रे’ भन्न थालिन्थ्यो । लक्ष्मीपूजाको दिनबाट सुरू हुने देउसीभैली भाईटीकाको दोश्रो दिनसम्म जारी रहन्थ्यो । प्रत्येक घरमा दोहोर्‍याएर देउसी खेल्न पुगिन्थ्यो । तर, अहिले गाउँ नै विभिन्न धर्ममा विभाजित भएपछि तिहारको रमझममा कमी आएको दाल्फु, च्यास्मीटारका रहरमान राईले बताए । ‘एउटा त आफ्नो रितिथितिको बारेमा वास्ता नगर्दा पनि देउसीभैली पहिलाजस्तो हुन छाडेको हो,’ राईले भने, ‘देउसीभैलीका लागि रहरियामध्ये कोही क्रिश्चियन भए, कोही स्वर्गीकमार्गी भए, कोही हिन्दु रहे । देउसी खेल्ने समूह थोरै बन्दै गएपछि देउसीभैली पहिलाजस्तो रमाईलो हुन छाडेको हो । पाँच दिनसम्म देउसीभैली खेल्ने हामी नै थियौँ ।’

दशकअघिसम्म तिहारमा दिनरात रामायण कथा भट्याएर देउसीभैली खेल्ने चलन थियो । देउसीभैलीका लागि रातभर अनिँदो बस्ने गरिन्थ्यो । मादल घन्काएर जुहारी गाइन्थ्यो । केटाकेटीदेखि बुढाबुढीसम्मको उत्साहजनक सहभागीता रहन्थ्यो । देउसीभैली खेल्नअघि प्रत्येक घरमा मादलको तालमा गीत गाउँदै नाचिन्थ्यो । एक घरबाट अर्को घरमा जाँदा मादल बजाएर गीत गाउँदै रमाईलो गर्दै जाने गरिन्थ्यो । अहिले, मादल कम बजाइन्छ, झ्याउने भाका कम गाउने गरिन्छ । त्यसको सट्टा साउण्डबक्समा गीत बजाएर हिँड्न थालिएको छ । भैली खेल्ने प्रचलन त हराइसकेको छ । भट्याउँदा पनि रामायणजस्ता धार्मिक कथा भन्न छाडिएको छ । हिजोआज देउसी पनि भाईटिकाको दिन र अघिल्लो दिन मात्र खेल्न थालिएको छ । देउसीभैलीलाई दान स्वरुप रुपैयाँ, जाँडरक्सी, सेल रोटी र फुलफुल दक्षिणा दिने गरिन्छ । खानेकुरा सोही घरमा बाँडेर खाने प्रचलन छ ।

धर्म परिवर्तन गरेर क्रिश्चियन धर्मावलम्बी बनेका कतिपय स्थानीय पनि देउसीमा सहभागी हुन छाडेका छैनन् । उनीहरु मादल बजाउँछन्, गीत गाउँछन् र नाच्छन् तर ‘देउसी रे’ भन्दैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।