मनरुपा नेपालीकाे पीडा : २६ वर्षको अन्तरमा एकै ठाउँ पहिरोले पुर्‍यो दुई छोरा

पाँचथर, २१ कात्तिक । जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ । अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भीर बनेको छ । घर वरिपरी पहिरो गएको छ । बसाईं सरेर जाने ठाउँ पनि छैन् । ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पीर त छँदै छ, आफ्नै ठाउँमा पहिरोका कारण दुई जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन ।

६२ वर्षकी मनरुपाले पहिरोकै कारण दुई जना छोरा र चार जना आफन्त गुमाउनु परेको छ । तर, अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पीरमै उनका दिन बितिरहेका छन् । ‘मेरो त भाग्य नै यस्तै होला,’ गहभरी आँशु पार्दै मनरुपाले भनिन्, ‘पहिरोले पहिले साइलो छोरा लग्यो, अहिले काँइलो ।’ २६ वर्षको अन्तरालमा दुई जना छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त छिन् । जोखिमपूर्ण बस्ती मिक्लाजुङ गाउँपालिका–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृ त्यु भएको हो ।

मनरुपाका अनुसार २०५२ सालमा गएको पहिरोमा उनका साइलो छोरासहित उनकी बहिनी, बहिनीका दुई जना छोरा र मनरुपाका मामाको ज्यान गएको थियो । पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए ।

यस वर्ष बेमौसमी वर्षाले पुस्तौँदेखि खेती गर्दै आएका बारी तथा भीरपाखा भत्किए । मनरुपाका काइला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाई बसेका थिए । गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए । क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पुर्‍याे । उनकी श्रीमती र छोराछोरीले उद्धारका लागि चिच्याए । नजिक भएकाहरु घटनास्थल पुगिसक्दा सन्तोषको मृ त्यु भइसकेको थियो । आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन ।

‘हामी यस्तैमा बसेका छौँ । माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ,‘ सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भनिन् । सात दलित सहित अठभैयाका नौ परिवार वर्षौँदेखि जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका छन् । दुई खोल्सीका वीचमा रहेको पाखामा घर बनाएर बसेकाहरु दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् । यहाँकी सविना नेपालीले भनिन्, ‘अलिअलि पहिरो वर्षैपिच्छे गइरहेको थियो । यसपाली ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो ।’

तर पीडितहरुले जोखिममा गुजारा चलाउँदै आएका भएपनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन । पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोष नेपालीको घर बस्नै नसकिने अवस्थामा छ । सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन् । ‘पहिले मेरो छोरो सहित आफन्त वित्दा सरकारले सात हजार राहत, भाँडाकुँडा, ओढ्ने ओच्छ्याउने दिएको थियो,’ मनरुपाले भनिन्, ‘यसपालि हामीलाई हेर्न कोही पनि आउनुभएन ।’

हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीहरुको छ । बाढी र पहिरोमा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना वेपत्ता छन् । यहाँ सडक, विद्युत, खानेपानी, सिंचाई, घर तथा गोठहरु, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतवारी तथा कृषिमा बाढी र पहिरोले निकै ठूलो क्षति पुर्‍याएको छ । बाढी र पहिरोले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत र अस्तब्यस्त हुँदा क्षतिको पूर्ण विवरण समेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।

बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ-७ लेखगाउँका सञ्जय राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।