मानेभन्ज्याङमा सुख्खा पहिराे: बस्ती जाेखिममा, दूधकोसी थुनिँदै

ओखलढुंगा, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- ३ स्थित दुधकोसी करिडोर सडक खण्डमा गएको सुख्खा पहिरोले दूधकोसी थुनिएर बस्ती नै जोखिममा परेको छ । उँबुको चुने भन्ने ठाउँ नजिकै २० दिन पहिले सुख्खा पहिरो जान सुरु भएको हो । दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको स्थानीयले बताए । उक्त पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।

एक साताअघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । पहिरोबाट झरेको ढुंगा-माटो सिधै दूधकोसी नदीमा खसेका कारण नदीको पानीको बहावसमेत केही मात्रामा रोकेको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट-मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको स्थानीयको भनाइ छ । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुल गाउँसम्मै आइपुग्ने गरेको स्थानीय कल्याण राईले बताए ।

स्थानीयका अनुसार पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका- ६ मा पर्ने रिब्दोम गाउँका करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीय र केटाकेटीहरू विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य छन् ।

पहिरोबाट झरेको ढुंगा-माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यस ठाउँमा पहिले पहिरो नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको स्थानीयको अनुमान छ ।

पहिरोबारे स्थानीय सरकारले बेवास्ता गरेको सरोकारवालाको गुनासो छ । स्थानीय विपद् व्यवस्थापन समितिमा यसबारे छलफलसमेत नभएको र जिल्लाको समितिले समेत पहिरोको जोखिमबारे चासो नदिएको पहिरो प्रभावितको गुनासो छ ।

पहिरोको जोखिमबारे सोध्दा मानेभन्ज्याङ- ३ उँबुका अध्यक्ष मेडल राईले पहिरोबारे आफूले सुनेको बताए । उनले भने, ‘यसबारे जानकारी आएको छ, म पुग्न सकेको छैन । फेसबुकमा आएका तस्बीर हेर्दा दूधकोसीको धार नै परिवर्तन भएको छ ।’ उनले यसबारे अध्ययन गर्ने बताए पनि पहिरो नियन्त्रणबाहिर गएको जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।