धनकुटामा एक सहित आज प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, २४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १४, सुन्दरहरैचामा ६, उर्लाबारी र रंगेलीमा २–२, बेलबारी, बुढीगंगा र केराबारीमा १–१, सुनसरीको इटहरीमा ८, धरानमा ५, रामधुनीमा २, बर्जु र बराहक्षेत्रमा १–१, झापाको दमक र मेचीनगरमा २–२, कनकाई, भद्रपुर, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१, इलामको चुलाचुली र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र ३० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तराई र पहाडलाई जोड्दै छठ
–नारायण अधिकारी/चितवन, २४ कात्तिक (रासस) : तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोडने काम गरेको छ । छठ पूजामा पहाडीमूलका समुदायको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो । जिल्लाको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ मा सात–आठजना मात्रै भक्तजन हुने गर्दथे । अहिले उक्त स्थानमा हजारौं भक्तजनले छठपूजा गर्ने गरेको जानकार बताउँछन् । सुरुआती समयमा तराईमूलका समुदायले मात्र मनाउँदै आएको यो पर्व पछिल्लो समयमा अन्य मूलका समुदायले पनि मनाउन थालेपछि भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।
विषेशगरी पहाडी मूलका समुदायको यसपर्वतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । विसं २०२२ मा सात–आठ परिवार मात्रै पूजा गर्नुहुने गरेको सम्झदै राजकुमार गुप्ताले भन्नुभयो, “अहिले यसको महत्व बढ्दै गएकाले भक्तजनको चाप पनि बढ्दै गएको छ ।” त्यो समयमा छठ पर्वको महत्व के हो भन्ने बारेमा बुझ्न नसक्दा यसपर्व मान्ने मानिस तराई समुदायको मात्रै हुने गरेको भए पनि अहिले आएर सबै मूलका समुदायले छठपर्व मनाउन थालेका छन् । तराईबाट यहाँ बसोबास गर्नेको चाप बढ्नु र अन्य समुदायले पनि यो पर्वलाई महत्व दिन थालेको उहाँले बताउनुभयो ।
हिन्दू धर्मालम्बी भन्दापनि अन्य धर्म मान्नेलेसमेत छठको पूजा गर्न थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छठीमाताको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ ।” यस पर्वमा पूजा गर्नाले रोग निको हुने जनविश्वास रहँदै आएको छ । छठ पर्वको दिन दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गर्ने र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने गर्दछन् ।
छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् । अन्य भने साँझमा अघ्र्य चढाउने र बिहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यो पर्ब मनाउने गर्दछन् । गुप्ताले भन्नुभयो, “अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अघ्र्य चढाउँदा स्वास्थ्य राम्रो हुने जनविश्वास छ ।”
भरतपुर महानगरपालिका–१८ निवासी पहाडीमूलकी ७० वर्षीया पुजनदेवी घिमिरेले विगत १० वर्षदेखि हरेक वर्ष छठको पूजा गर्दै आउनुभएको छ । १० वर्षअघि गरेको भाकल पूरा भएपछि सधैँ पूजा गर्दै आएको उहाँले बताउनुभयो । अहिले मेला व्यवस्थापनका लागि तराई सामुदायिक सेवा समितिका पूर्वअध्यक्ष कृष्णराज गुप्ताको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको छ । समितिका सदस्य राजकुमार कानुका अनुसार मेला व्यवस्थापनको काम भइरहेको छ । उहाँले पछिल्लो समयमा पहाडिया समुदायका व्यक्ति पनि छठपूजा गर्न आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले छठपूजाका लागि पहाडिया समुदायबाट १० प्रतिशत आउने गरेका छन् ।” विस्तारै प्रचारप्रसार र विश्वासका कारण यसको महत्व बढ्दै गएको उहाँले बताउनुभयो ।
छठपर्वका लागि यहाँको नारायणी नदी किनार सिँगारिएको छ । नदी किनारमा टेन्ट टाँङ्गर्ने, पूजाआजाका लागि स्थान बनाउने, नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको छ । समितिका सल्लाहाकार राजकुमार गुप्ताले विगत वर्ष कोरोनाका कारण सबैले घरघर मनाएको छठपर्व यसवर्ष कोरोना सङ्क्रमण कम भएकाले स्वास्थ्य मापदण्डको पालना गरी नदी किनारमा मनाउन लागिएको हो ।
–––


