एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ । एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएकामा सो दिन अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका थिए भने बाँकी रहेका स्थानमा पनि निर्वाचन पनि सहमतिबाट छानिएर विवरण आउन थालेको छ । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ ।

हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट गरी ९० प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाउनुभयो । प्रतिनिधि चयन भएकाको विरणलाई डिजिटलरुपमा अभिलेखीकरण गरिनेछ । गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । सो पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन्।

महानगर प्रमुख दाहालसँग कतारका राजदूतको भेट
चितवन, ३० कात्तिक । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गर्नुभएको भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राख्नुभएको थियो । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताउनुभयो । उहाँले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताउनुभएको दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

राजदूत मोहम्मदले नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालले लाभ लिन सक्ने बताउनुभयो । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन आफू लागि पर्ने राजदूत मोहम्मदको भनाइ थियो । कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारले विशेष चासो राखेको राजदूत मोहम्मदलाई उद्धृृत गर्दै अधिकारीले बताउनुभयो । कतारमा पाँच लाख बढी नेपाली विभिन्न क्षेत्रमा रोजगार तथा पछिल्ला दिनमा कतारमा लगानीसमेत गरी व्यापार व्यवसाय गरिरहेका छन् । महानगर प्रमुख दाहालले कृषि तथा पशुविज्ञान विश्वविद्यालयसँग प्रविधि आदानप्रदानका लागि दुई पक्षीय सम्झौता सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै यसबाट कृषि र प्रविधिको क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानले दुई देशको कृषि प्रणालीमा आधुनिकीकरण गर्न थप सहयोग पुग्ने बताउनुभयो । राजदूत मोहम्मदलाई महानगर प्रमुख दाहालले स्वागत गर्दै कतारले लोभ लाग्दो विकास गरेको बताउनुभयो । कतारका विकासका असल अभ्यास अनुसरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको प्रमुख दाहालको भनाइ थियो । प्रमुख दाहालका अनुसार राजदूत मोहम्मदसँगको भेटका क्रममा कतारको एक नगरसँग भरतपुर महानगरले भगिनी सम्बन्ध कायम गरी भरतपुर महानगरमा बनिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण पूरा गर्न सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।