काग्रेस निर्वाचन-डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै
डोटी, ३० कात्तिक ।नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र नभई आफू पार्टीको सभापति पदको उम्मेदवार भएको जनाउँदै कतिपय नेताहरुले सामाजिक सञ्जाल फेसबुकमा समेत जानकारी दिन थालेका छन् ।लामो समयदेखि काठमाडौँ तथा तराईका लागि कैलालीमा बसोबास गर्दै आएका यहाँका कांग्रेस नेता अहिले जिल्लामा आएका कारण यहाँको चुनावी चहलपहल निकै बढेको नेता राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लाबाहिर बसोबास गर्ने नेताहरु अहिले पार्टीको महाधिवेशनका लागि जिल्लामा आउनुभएको छ, कतिपय कार्यकर्तासँग भोट माग्न थालेका कारण यहाँको चुनावी चहलपहल निकै बढेको छ ।” पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन आगामी मङ्सिर ५ र ६ गते तोकेपछि जिल्लामा नेताको चहलपहल झनै बढेको हो । कांग्रेस विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन् पाउने भएपछि सो पदमा आकाङ्क्षा देखाइरहनुभएको जनाइएको छ ।
गत महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वाभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आएनुभएको छ । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापति पदमा आफ्ना दाबेदारी प्रस्तुत गर्दै आउनुभएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आङ्कलन गरिएको छ । यसैगरी कांग्रेस युवा नेताहरु दिलबहादुर बम तथा नरबहादुर ढाँट (पाल) ले पनि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको सामाजिक सञ्जालमा राख्नुभएको छ ।उम्मेदवारका दाबेदार नेताहरु अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन कार्यकर्ताहरुसँग भेटघाट अभियानमा लागिरहेका छन् । यस्तै डोटी कांग्रेसमा लामो समयदेखि सक्रिय नेताका रुपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ ।
विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका उहाँलाई पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्ता पङ्क्तिमा रहेको कांग्रेसका अर्का नेता पदमराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिको पदका लागि तीव्र आकाङ्क्षा देखाई रहनुभएको बुझिएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहनुभएको छ । आफू विगतमा पार्टी उपसभापति भइसकेकाले सभापति पदका लागि आफू योग्य हुनाका साथै नियमसङ्गत रुपमा पनि आफूले पार्टी सभापति पाउनुपर्ने उहाँको भनाइ छ ।
पार्टीको जिल्ला समितिमा सह–सचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकोले यस पटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको दाबी छ ।
यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेहरुमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहनुभएको छ । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउँदै आउनुभएको छ भने, खड्काले आफू जिल्लामा सधँै उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहनुभएका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उहाँले सार्वजनिक रुपमा सभापतिको आकाङ्क्षी भएको बताउनु भएको छैन् ।


