मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछ : प्रचण्ड
जलेश्वर, १ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताउनुभएको छ ।रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मणिपालको जग्गा नजिकै आज बिहान साढे ११ बजे स्थानीयवासीले उहाँलाई रोकेर वर्षौंदेखि किसानको उब्जाउ जग्गा ओगटेर मणिपालले बञ्जर बनाइरहेकामा दुःखेसो सुनाएपछि उहाँले सो जग्गामा चाँडै ठूलो परियोजना बसाल्ने बताउनुभएको हो ।
तीस वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेको अन्नको भण्डारका रुपमा रहेका करोडौँ मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए । प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र रु १० हजार प्रतिकट्ठाका दरले लिइएको थियो । किसानको दुःखेसो सुनेर प्रचण्डले नआत्तिन आश्वासन दिँदै चाँडै सो जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुने बताउनुभयो । स्थानीय किसानले प्रचण्डलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने प्रचण्ड सो स्थानमा पाँच मिनेट मात्रै किसानको कुरा सुनेर उनीहरुलाई आश्वासन दिँदै रामगोपालपुरतिर लाग्नुभएको थियो ।
सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो
काठमाडौँ, १ मङ्सिर । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २९० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ ।


