न्यून चापीय क्षेत्रको प्रभावले बदली र हिमपात
काठमाडौँ, २ मङ्सिर ।नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेकाले आज बढी चिसो महसुस गरिएको छ । तापक्रम स्थिर रहे पनि घाम नलागेकाले केही चिसो बढेको छ । आज काठमाडौँको अधिकतम २२ र न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागसहित बागमती प्रदेश तथा प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यही मङ्सिर ४ गते पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार
पर्वत, २ मङ्सिर । नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ ।
जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि रु ५० हजार तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि रु २५ हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार शुल्क तोकिएको छ । यस्तै क्षेत्रीय सभापतिका लागि रु १५ हजार तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि रु १० हजार तोकिएको छ कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताउनुभयो । “जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो”, उहाँले भन्नुभयो, “दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।” केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई रु १० हजार, उपसभापति र सचिवका लागि रु सात हजार, सहसचिवका लागि रु छ हजार र सदस्यका लागि रु तीन हजार शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई रु पाँच हजार, उपसभापति र सचिवलाई रु तीन हजार, सहसचिवलाई रु दुई हजार ५०० र सदस्यलाई रु दुई हजार शुल्क निर्धारण गरिएको छ ।


