मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन
काठमाडौँ, २ मङ्सिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ ।यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ । कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारीदिनुभयो ।प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ ।
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् ।एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ । ती विषयमा २०÷२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।
नेपाल घोडचढी सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता
काठमाडौँ, नेपाल घोडचढी सङ्घले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय घोडचढी महासङ्घको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारणसभाले नेपाललाई मान्यता दिने निर्णय गरेको हो । कात्तिक २८ देखि मङ्सिर १ गतेसम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय गरेको नेपाल घोडचढी सङ्घका अध्यक्ष रवी राजकर्णिकारले जानकारी दिनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासङ्घको निर्णयप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सङ्घले ६ वर्षदेखि संघर्ष गर्दै आएको थियो ।
नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना सङ्घका पदाधिकारीले नेपालको भ्रमण गरेका थिए । उनीहरूले नेपालमा घोडचडीको सम्भावना र विकासको अवस्थाबारे जानकारी लिएका थिए । टोलीले रक्षा मन्त्री डा मिनेन्द्र रिजाल, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीलगायतसँग भेटघाट गरेको सङ्घले जनाएको छ ।


