राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा
फुङ्लिङ, २ मङ्सिर । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चीनको रिउ बजारसँग करिडोर जोडिने छ ।” टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ । सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोलाको सुकेपानीसम्म करिडोर निर्माण गरिएको छ ।
भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताउनुभयो । सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म उक्त करिडोर २३० किलोमिटर लामो छ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर करिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर रहेको छ । “करिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ”, पौडेलले भन्नुभयो । धनकुटाको मूलघाटबाट तमोर करिडोर खन्न सुरु गरिएको हो । ओलाङचुङगोलामा ३०० मिटर ट्र्याक निर्माण सकिएको छ । तमोर कोरिडोरअन्तर्गत हाल धनकुटा, पाँचथर र ताप्लेजुङमा काम भइरहेको छ । । सो खण्डमा १० पुल निर्माणाधिन अवस्थामा छन् । सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर क्षेत्रमा मात्र काम बाँकी छ।
तमोर कोरडोर निर्माण २०६५ सालमा थालिएको हो । सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर करिडोरलाई विकास गर्न लागिएको हो । सडक निर्माणमा हालसम्म रु ४० करोड २० लाख खर्च भएको आयोजनाले जनाएको छ । सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्ने छ ।
सर्वाेच्चमा देखिएको समस्या छिट्टै समाधान हुन्छ ः अध्यक्ष नेपाल
गोदावरी, २ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताउनुभएको छ ।कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उहाँले सर्वाेच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारीदिनुभयो ।
उहाँले भन्नुभयो, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।”अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा (एमाले)बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताउनुभयो।


