अर्थमन्त्री शर्मा-सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ
काठमाडौँ, २ मङ्सिर ।अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गर्नुभयो । “अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्”, उहाँले भन्नुभयो, “सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।”
उहाँले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने बताउनुभयो । राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको उहाँको भनाइ छ । कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको जनाउँदै अर्थमन्त्री शर्माले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्ने धारणा राख्नुभयो ।उहाँले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरीकनै कानून पास गरिदिँदा पनि अहिले समस्या निम्तिएको उल्लेख गर्दै सुक्ष्म अध्ययन गरेर कानुन निर्माण गर्नुपर्छ भन्नुभयो । बैठक मुख्यसचिव शङ्करदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागितामा भएको थियो । बैठकमा वर्तमान खरिद कानुन, पूँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासनलगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
तमोर करिडोर निर्माण दू्रत गतिमा
फुङ्लिङ, २ मङ्सिर। राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चीनको रिउ बजारसँग करिडोर जोडिने छ ।” टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ ।
सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोलाको सुकेपानीसम्म करिडोर निर्माण गरिएको छ । भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताउनुभयो । सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म उक्त करिडोर २३० किलोमिटर लामो छ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर करिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर रहेको छ । “करिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ”, पौडेलले भन्नुभयो । धनकुटाको मूलघाटबाट तमोर करिडोर खन्न सुरु गरिएको हो । ओलाङचुङगोलामा ३०० मिटर ट्र्याक निर्माण सकिएको छ ।
तमोर कोरिडोरअन्तर्गत हाल धनकुटा, पाँचथर र ताप्लेजुङमा काम भइरहेको छ । । सो खण्डमा १० पुल निर्माणाधिन अवस्थामा छन् । सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर क्षेत्रमा मात्र काम बाँकी छ । तमोर कोरडोर निर्माण २०६५ सालमा थालिएको हो । सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर करिडोरलाई विकास गर्न लागिएको हो । सडक निर्माणमा हालसम्म रु ४० करोड २० लाख खर्च भएको आयोजनाले जनाएको छ । सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्ने छ ।


