सामुदायिक विद्यालयलाई नियमविपरीत शुल्क नलिन परमादेश
कर्णाली, ३ मङ्सिर ।उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियमविपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियमविपरीत लिने गरिएका शुल्कलाई आगामी शैक्षिक सत्रदेखि नलिन बिहीबार विपक्षीका नाममा परमादेश जारी गरेको हो ।सरकारी अनुदानमा सञ्चालित विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क लिने कार्य नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त मौलिक हकको विपरीत भएकाले रोक्न माग गर्दै दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले भनेको छ, “हालसम्म जे–जुनरूपमा शुल्क लिने गरिएता पनि आगामी शैक्षिक सत्रदेखि कानुनविपरीत कुनै पनि शुल्क नलिनू ।”
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित जननमूना माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो बढेपछि अधिवक्ता खगेन्द्र खनालले यही साउन १० गते उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा विद्यार्थी भर्नाका समयमा बैंक खातामा पैसा जम्मा गर्न लगाउने र उक्त भौचर लिएपछि मात्र भर्ना गर्ने कार्यले निःशुल्क शिक्षासम्बन्धी हकको हनन भई संविधानको भावनाविपरीतको कार्य भएकाले रोक्न माग गरिएको थियो ।
निवेदनमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, जननमूना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षक अभिभावक सङ्घ अध्यक्षलाई विपक्षी बनाइएको थियो । निवेदकका तर्फबाट अधिवक्ता शेरबहादुर खत्री र निवेदक अधिवक्ता खगेन्द्रबहादुर खनालले बहस गर्नुभएको थियो ।
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु
राँझा, ३ मङ्सिर ।बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुने गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।उहाँका अनुसार पुरानो मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछन् । ऐतिहासिक मेलाको संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको कार्यवाहक अध्यक्ष धितालले बताउनुभयो ।
गुरुवागाउँ मेलामा किसानले भेडा जुधाउने प्रतिस्पर्धासमेत गर्ने गर्दछन् । कोरोना महामारीलाई मध्यनजर गर्दै धेरै भीडभाड हुने नौटङ्की नाच यस वर्ष पनि सञ्चालन नगरिने गुरुवागाउँ मेला व्यवस्थापन समितिका अध्यक्ष तीर्थराम कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा रामलीला भने सञ्चालन गरिने छ । मेलास्थलमा मदिराजन्य पसल बेलुका ७ बजे अनिवार्य बन्द गर्नुपर्ने, जुवातासजन्य क्रियाकलाप सञ्चालन गर्न नपाइने तथा मेला राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय बैठकबाट गरिएको छ ।यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको बिहानैदेखि ठूलो भीड लागेको छ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।


