हर्नियाको शल्यक्रियाले दृष्टि गुमेपछि …
तनहुँ, ३ मङ्सिर । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका दुई वर्षीय बालक अनिप तामाङको हर्नियाको शल्यक्रियापछि आँखाको दृष्टि गुमेको छ । गत भदौ २० गते पोखरास्थित ‘मेडिप्लस हस्पिटल’मा सो शल्यक्रिया गरिएको बताइएको छ । दृष्टि गुमेपछि अहिले छोरा बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा पुगेको बालकका आमा सानीले जानकारी दिनुभयो । ज्याला मजदुरीका भरमा जीविकोपार्जन गर्दै आएको सो परिवारमा आर्थिक अवस्थाका कारण छोराको उपचार गराउन नसकेपछि घरमा राख्दै आएका थिए । मकवानपुरको भीमफेदी घर भई हाल तनहुँको दुलेगौँडामा तामाङ परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
सो परिवारको समस्याका बारेमा स्थानीय युवा समाजसेवी शङ्कर पन्तले थाहा पाएपछि उहाँकै नेतृत्वमा युवा समूहले रु ५५ हजार सङ्कलन गरी बिहीबार तामाङ परिवारलाई हस्तान्तरण गरेका छन् । पहिलो चरणमा बालकको शारीरिक अवस्था र रोग पहिचान गर्न उक्त रकमले सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । रोग पहिचान भई उपचार सम्भव हुने अवस्थामा युवा समूहले अभियान चलाएरै रकम सङ्कलन गरी बालकको उपचारमा सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । छोराको उपचार गराउने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण अस्पतालमा लैजान नसकेर घरमै राख्नुपरेको आमा सानीले गुनासो गर्नुभयो । सो समूहले आर्थिक सहयोग गरेपछि छोराको उपचार हुनेमा थप आशा पलाएको उहाँले बताउनुभयो । अनिपका उपचारका लागि मित्रलाल÷पदमकुमारी श्रेष्ठले रु १० हजार, बबुराम कार्कीले रु १० हजार, दिवस उप्रेतीले रु १० हजार, देवेन्द्र ढुङ्गानाले रु पाँच हजार, युवराज भट्टराईले रु पाँच हजार एक सय, शिव गर्तौलाले दुई हजार, सुरेन्द्र पौडेलले रु दुई हजार र सुमन सापकोटाले रु दुई हजार सहयोग गरेका छन् ।
पशुपालक किसानलाई ‘गोठालो भत्ता’
मान्म, ३ मङ्सिर ।कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक रु एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक रु दुई हजारका दरले गोठालो भत्ता दिदैँ आएको छ । सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताउनुभयो ।
“किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ ।” उहाँका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान रहेका छन् । त्यस्तै एक सयभन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान छ जना रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु नौ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो ।


