कांग्रेसको १४ औं महाधिवेशनः जिल्ला सभापतिका लागि कट्टेल र थेबे मैदानमा

चन्द्रकला भण्डारी,झापा, ३ मङ्सिर । राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको झापामा नेपाली कांग्रेसको सभापति पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा वर्तमान उपसभापति राम कट्टेल र पूर्वउपसभापति देउमान थेबेले जिल्ला सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेर कार्यकर्तासँग मत माग्न थालिसक्नुभएको छ । दुवै उम्मेदवारलाई जिताउन केन्द्रीय नेता तथा स्थानीय कार्यकर्ता दुई खेमामा विभाजित भएका छन् भने अलगअलग प्रचार समिति गठन गरिएका छन् ।झापामा पाँच निर्वाचन क्षेत्र, १० प्रदेश निर्वाचन क्षेत्र र १५ पालिका छन् । अहिलेदेखि नै गाउँ गाउँमा दुवै उम्मेदवारले समूह बनाएर आफ्ना नीति, कार्यक्रम र धारणा कार्यकर्तामाझ पु¥याउन थालिसकेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा झापामा दुई खेमा बनेको बताइएको छ । सभापतिका उम्मेदवार राम कट्टेललाई प्रवक्ता शर्मा र देउमान थेबेलाई पूर्वमहामन्त्री सिटौलाको खुला समर्थन रहेको पार्टीका कार्यकर्ता बताउँछन् । पार्टीका जिल्ला सभापति उद्धव थापा, पूर्वसांसद सुधीरकुमार शिवाकोटी, केशवकुमार बुढाथोकी, प्रचार विभागका प्रमुख कृष्ण हुमागाई थेबेको पक्षमा मत माग्ने अभियानमा सहभागी हुनुहुन्छ ।

त्यसैगरी, सभापतिका अर्का उम्मेदवार राम कट्टेललाई जिताउन धुलाबारी क्याम्पसका प्रमुख एवं बौद्धिक व्यक्तित्व पुष्पराज पौडेलको संयोजकत्वमा राम कट्टेल जिताउ अभियान समिति गठन भएको छ । संविधानसभा सदस्य उषा गुरुङ, जिल्ला समितिका सचिवद्वय ताराबीर कटुवाल र प्रेम सम्बाहाम्फे, नेपाल शिक्षक महासङ्घका पूर्वजिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, जिल्ला प्रवक्ता लोकराज ढकाललगायतका नेताहरु कट्टेलको पक्षमा खुलेर मत मागिरहनुभएको छ ।प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेसको नेतृत्वको बागडोर कसले लिन्छ भन्ने विषय राष्ट्रिय राजनीतिमा समेत चासोपूर्वक हेरिएको छ ।

भद्र सहमतिको विवाद

पार्टीको १३ औँ महाधिवेशनका बेला जिल्ला सभापति पदमा अहिलेका उम्मेदवार देउमान थेबे र अहिलेका सभापति उद्धव थापाबीच प्रतिस्पर्धाको माहोल थियो तर नेताहरु सिटौला र शर्माबीचको सहमतिमा उद्धव थापालाई त्यसबेला सर्वसम्मत सभापति चयन गरिएको थियो । नौबुँदे सहमति पत्र तयार पारेर उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष लगायतका पदमा भागबण्डा गरिएको थियो । सहमतिको कुनै पनि बुँदामा नलेखिए पनि १४ औँ महाधिवेशनमा थेबेलाई सर्वसम्मत सभापति बनाउने विषयमा भद्र सहमति भएको थेबे पक्षधरको दाबी छ ।थेबे पक्षधरले भद्र सहमतिको पालना गर्न कट्टेल पक्षलाई दबाब दिइरहेकोसमेत छ तर, थेबेलाई सभापति पदमा सर्वसम्मत बनाउने भनेर कुनै सहमति नभएको कट्टेल पक्षको भनाइ छ । १३ औँ महाधिवेशनमा सभापति पद सर्वसम्मत गराउन उम्मेदवारी त्याग गरेको विषयमा उच्च मूल्याङ्कन गर्दै नौबुँदे सहमतिको पहिलो बुँदामा थेबेको राजनीतिक भूमिकालाई सम्बद्र्धन गरिने उल्लेख छ ।

यही बुँदाका विषयमा दुवै खेमाबीच फरक फरक व्याख्या भइरहेको छ । कट्टेल पक्षमा रहेकी संविधानसभा सदस्य उषा गुरुङले थेबेलाई सभापति पद दिइनुपर्छ भनेर कुनै भद्र सहमति नभएको जनाउँदै बरु उहाँलाई त्यसबेलै जनवर्गीय सङ्गठन हेर्ने गरी विभागीय प्रमुख र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनाइएको बताउनुभयो । थेबे पक्षमा लाग्नुभएका संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले थेबेलाई उहाँको त्यसबेलाको त्यागको सम्मान गर्दै अर्को अधिवेशनमा सर्वसम्मत सभापति बनाउने भनेर भद्र सहमति भएको बताउँदै आउनुभएको छ । त्यही सहमतिअनुरुप पार्टीमा उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको जनाउँदै उहाँले अहिले आएर भद्र सहमति तोड्नु राजनीतिक रुपमा बेइमानी हुने शिवाकोटीको आरोप छ ।

प्रदेशसभा क्षेत्रको चुनाव आज

प्रदेशसभा क्षेत्रस्तरीय निर्वाचन आज झापाको १० वटै प्रदेश निर्वाचन क्षेत्रमा भइरहेको छ । हरेक क्षेत्रमा क र ख गरी दुई सभापति र पदाधिकारीको चयन यही निर्वाचनले गर्ने छ । निर्वाचन क्षेत्र नं ४ को प्रदेश ‘क’ क्षेत्रको सभापति पदमा विनोद ढकाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ क्षेत्रमा उपसभापतिद्वय रोहित खवास र छत्र पाण्डे र सचिवद्वयमा डिल्लीराम घोर्साइ र बेदनिधि अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।मतदानस्थलमा आज बिहानैदेखि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिको भीड लागेको छ । पार्टीले निर्वाचनलाई निकै व्यवस्थित बनाएको हुँदा चुनावी प्रक्रिया निष्पक्ष र स्वच्छ हुने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।