अध्यक्ष माधवकुमार नेपाल-नेकपा एमाले इतिहासको विषय बन्दै छ

चितवन, ३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो ।समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उहाँको भनाइ छ । एक फरक प्रसङ्गमा उहाँले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताउनुभयो ।

पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उहाँले प्रधानमन्त्रीे राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छाँै ।” नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उहाँले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताउनुभयो ।

योग स्वस्थ जीवनका लागि उत्तम माध्यम हो ः प्रधानमन्त्री देउवा
काठमाडौँ, ३ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताउनुभएको छ ।
पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै उहाँले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गर्नुभयो ।प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गर्नुभएको अनुसन्धान, प्रचार र योगदानको सराहना गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उहाँहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको बताउँदै उहाँहरुले नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिनुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले उहाँहरु ठूलो क्रान्तिकारी भएको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपाल जडीबुटीको भण्डार भएको र उहाँहरुले नेपालमा त्यसको प्रशोधन र उत्पादनका लागि उद्योग खोल्ने योजना महत्वपूर्ण भएको बताउँदै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा गर्नुभएको योगदानका लागि धन्यवाद दिनुभयो । विद्यार्थीको पठनपाठन लागि स्थापना गरिएको रत्न सर्राफ भवन, पतञ्जली नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटनले नेपाली समाजमा नयाँ प्रेरणा प्रदान गर्ने र यस कार्यले सबैमा नयाँ ऊर्जा प्राप्त भएको उहाँका भनाइ थियो ।पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आयुर्वेद औषधि र प्राकृतिक चिकित्साको बेग्लै महत्व रहेको उल्लेख गर्दै यो र आधुनिक विज्ञानको संयोजन गरी अघि बढे मानव स्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले योग गर्न सुरु गरेपछि आफ्नो स्वास्थ्यमा भएको सुधारको स्मरण गर्दै सबैको जीवनमा योग र साधनाको ठूलो महत्व रहेको बताउनुभयो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका भारत सरकारका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले कोभिड–१९ बाट विश्व नै आक्रान्त भएका बेला पतञ्जलीजस्ता संस्थाले योगविज्ञान र आयुर्वेदका माध्यमबाट समाजमा गरेको सहयोग र मानिसमा सकारात्मक भावना उत्पन्न गर्नेलगायत काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले बाबा रामदेव र आचार्य बालकृष्णले नेपाल र भारतका जडीबुटीमा अनुसन्धान, प्रशोसन, उत्पादन, औषधि निर्माण गरी मानव जीवनमा राहतको महत्वपूर्ण काम गरेको बताउनुभयो । नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो रहेको बताउँदै उहाँले दुई देशबीचको संस्कृति इतिहास र विरासत नै शक्ति भएको र यसलाई बढाउन दुवै देशबाट विभिन्न प्रयास हुँदै आएको उल्लेख गर्नुभयो ।

सो अवसरमा उहाँले अयोध्या–जनकपुर जोड्ने ४३६ किमी रामजानकी सडक र बुद्ध सर्किटमा पर्ने विभिन्न सडकको निर्माण भारत सरकारले तीव्र गतिमा गरिरहेको अवगत गराउँदै यसले दुई देशका संस्कृति सम्बन्ध निर्माण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा व्यक्त गर्नुभयो । बाबा रामदेवले योग, आरोग्य, प्रणायाम र आयुर्वेद औषधिका लागि नेपाल राजधानीका रुपमा दुनियाँको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सबै मानिस एक ईश्वरका सन्तान भएको उल्लेख गर्दै सबै प्रकारका भेदभाव हटाएर सबै समान भन्ने भावनाका साथ अघि बढ्न आग्रहसमेत गर्नुभयो । आचार्य बालकृष्णले पतञ्जलिका माध्यमबाट नेपालमा गर्न लागेको योजनाबारेमा जानकारी गराउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।