किसानलाई गहुँको बीउ वितरण
गोदावरी, ४ मङ्सिर । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो ।किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ । बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम गाउँपालिकाले कोषमा बजेट विनियोजन गरेको थियो । कार्यपालिकाको निर्णयले सो कोषबाट रु दुई करोड झिकेर किसानको लागि गहुँको बीउ खरिद गेर किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख दीपक खड्काले बताउनुभयो ।
गाउँपालिकाको कृषि शाखाका अनुसार बाढीले गरेको क्षतिअनुसार वडा÷वडामा गहुँको बीउ वितरण गरिएको छ । कैलारी गाउँपालिकामा नौ हजार ४१८ परिवारको धानबाली बाढीले नष्ट गरेको थियो । गाउँपालिकाभरि छ हजार हेक्टर (१२ हजार बिघा) जमिनको धानबाली नष्ट भएको जनाइएको छ । गाउँपालिकामा सात हजार १२६ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको कृषि शाखाले जानकारी दिएको छ । सो गाउँपालिकाले १० कट्ठासम्म जमिनमा धानबाली नोक्सान भएका परिवारलाई ४० केजी, १० कट्ठादेखि एक बिघा जमिनमा नोक्सान भएका परिवारलाई ८० केजी गहुँको बीउ दिने निर्णय गरेको थियो ।
एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने निर्णय गरेको थियो । रकम अभावका कारण निर्णय गरेअनुसार गहुँको बीउ वितरण गर्न नसकेको कैलारी–३ का वडाअध्यक्ष कैलाश चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडाहरुमा पठाएको गहुँको बीउ गाउँका भलमन्सामार्फत वितरण भइरहेको छ । गाउँपालिकाले स्थानीयस्तरमै विभिन्न सहकारीले उत्पादन गरेको गहुँको बीउ र धनगढी, टीकापुरबाट खरिद गरेर किसानलाई वितरण गरेको जनाएको छ ।
स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित
वालिङ, ४ मङ्सिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् ।शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित हुनुभएको हो । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित हुनुभएको हो । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो । त्यसैगरी २ ख मा महेश भट्टराई विजयी हुनुभएको छ । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गर्नुभयो । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित हुनुभएको हो । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित हुनुभएको हो ।


