अध्यक्ष नेपाल -आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौ
भक्तपुर, ४ मङ्सिर ।नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उहाँले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताउनुभएको हो । उहाँले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिवद्ध भएर काममा लागेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्र भएका गलत कामकारवाहीलाई अब रोकिन्छ ।” अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ आफूहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ ।”
अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उहाँले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिडेकाले त्यस्तो अवस्था नआउने दाबी गर्नुभयो । अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताउनुभयो । आज सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ ।
कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित
कास्की, ४ मङ्सिर । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित हुनुभयो । यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको कास्की कांग्रेसले जनाएको छ । क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी हुनुभयो । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित हुनुभयो ।
यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित हुनुभयो । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित हुनुभएएको छ । कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित हुनुभयो । क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित हुनुभयो । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई÷दुई जना निर्वाचित भएको जनाइएको छ ।


