अध्यक्ष ओली-एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छ
काठमाडौँ, ४ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो । “हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताउनुभयो ।
“ सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उहाँले भन्नुभयो, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको आँैला नसमातेर हिँड्न सक्दैनन् ।” सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गर्नुभयो । काठमाडौँ महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पु¥याइरहेको बताउनुभयो । उहाँले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिनुभयो । महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताउनुभयो ।
सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस् ः अर्थमन्त्री
काठमाडौँ, ४ मङ्सिर ।अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उहाँको भनाइ छ । प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको अधिवशेनको उद्घाटन गर्नुहुँदै उहाँले ‘सत्य के हो ? त्यसलाई स्थापित गर्न अनुरोध गर्नुभयो ।अर्थमन्त्रीले भन्नुभयो, “जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।” उहाँले सत्य स्थापित गर्दा त्यहाँ कुनकुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका नेता शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको बताउँदै माओवादी र त्यसको नेतृत्व ‘प्रचण्ड’को आँट र साहसबाट मात्रै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको प्रक्रियाबाटै नेपाललाई सामन्तवादबाट मुक्त गरेर समावेशी लोकतन्त्र स्थापना भएको स्पष्ट पार्दै उहाँले अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पार्नुभयो ।
समावेशी लोकतन्त्र स्थापनाका लागि माओवादीले सञ्चालन गरेको जनयुद्धले नै भूमिका निर्वाह गरेको तथ्य पेश गर्दै उहाँले त्यसलाई भत्काउन खोज्ने क्रमशः किनारामा धकेलिने उल्लेख गर्नुभयो । नेता शर्माले माओवादी अध्यक्ष ‘प्रचण्ड’ र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको तथ्यलाई स्थापित गर्ने काममा लाग्न पनि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मुलुकमा स्थापित भएको परिवर्तनको रक्षाका लागि पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।


