बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
बलेवा, ६ मङ्सिर ।बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ। बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतबार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन सुमधुर बनाउनाका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताउनुभयो । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम सङ्ग्रहालयलगायत म्याग्दी,बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुङ्गा सावित हुने बताउनुभयो । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले रु तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिनुभयो । पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताउनुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिने छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, ६ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेकोे महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।


