इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र

मङ्गलबारे, ६ मङ्सिर । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ । फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो । गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ । हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एस्काभेटर, ट्याक्टर, व्याकहँु र लोडरको लाइसेन्स वितरण हुनेगरी कोटा प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

विसं २०७१ मङ्सिरबाट सञ्चालनमा आएको कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण थालेपछि सेवाग्राही उत्साहित भएका छन् । यसअघि सवारी लाइसेन्स लिन महिनौं कुनुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ । इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन् । यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए । कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
बलेवा, ६ मङ्सिर ।बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ।बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतबार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन सुमधुर बनाउनाका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताउनुभयो । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम सङ्ग्रहालयलगायत म्याग्दी,बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुङ्गा सावित हुने बताउनुभयो । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले रु तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिनुभयो । पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताउनुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।