दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने
काठमाडौँ, ६ मङ्सिर ।नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३ मा एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पूर्ववत् अवस्थामा कायम रहेको भए पनि पूर्वमाओवादीको एउटा हिस्सा एमालेमै रहेकाले आफ्नो पार्टी नेकपाको निरन्तरता भएको जिकिर गर्नुभयो । उहाँले पार्टीबाट केही पक्ष अलग भए पनि एमालेकै अगुवाइमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरु गत विधान महाधिवेशनयता नै अघि बढेको र त्यसलाई राष्ट्रिय महाधिवेशनले थप व्यवस्थित गर्ने जनाउनुभयो ।
जाजरकोटमा महको उत्पादन घट्यो
जाजरकोट, ६ मङ्सिर । नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ ।
सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका उहाँ आम्दानी घटेपछि अहिले निराश हुनुहुन्छ । बुढा र पुन उदाहरणका पात्र हुनुहुन्छ । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन् । गत असोज कात्तिक महिनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो ।
मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उहाँको भनाइ थियोे । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो ।गतवर्ष प्रतिधार्नी एक हजार ५०० मूल्य पर्ने मह यो वर्ष दुई हजार ५०० देखि तीन हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको हो । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन् ।


