अध्यक्ष दाहाल-आगामी निर्वाचनमा चितवनबाटै उठ्छु
चितवन, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्नुहुँदै उहाँले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभयो ।भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पु¥याउनका लागि आफ्नो उम्मेदवारी रहने बताउनुभयो । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उहाँको भनाइ थियो । “चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । यी क्षेत्रमा रु चार अर्बको लगानी हुने उहाँको भनाइ थियो । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उहाँले बताउनुभयो । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ । जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ । ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उहाँको भनाइ छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ ।
कांग्रेस महाधिवेशन : कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी
महेन्द्रनगर, ७ मङ्सिर । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । उहाँका निकटमप्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।
सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं ३ मा कूल ५६२ मत खसेको समितिले जनाएको छ । क्षेत्र नं ३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो ।यस्तै निर्वाचन क्षेत्र नं २ र १ मा अहिले मतगणना जारी छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच तथा निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भीडन्त हँुदैछ ।


