नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा बान्तवा

भोजपुर, ७ मङसिर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभएको थियो । वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो । तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताउनुभयो । जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको ६० मत बदर भएको थियो ।

आधारभूत अस्पताल शिलान्यासमा सीमित
–युवराज विष्ट,भोजपुर, ७ मङ्सिर । अघिल्लो सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्यसेवा पु¥याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको भए पनि अहिले कामको प्रगति भने न्यून छ । शिलान्यास गरिएका अधिकांश स्वास्थ्य सस्थाका भवन निर्माण शिलान्यासमै सीमित छन् ।सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मङ्सिर १५ गते देशभरसँगै जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको थियो । सात स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास भएका थिए ।संघीय सरकारले नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माणमा ढिलाइ हुँदा दुर्गम भेगका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चितसमेत बनेका छन् ।

यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसादराई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल शिलान्यास गरिएको हो । सातमध्ये पाँच अस्पतालको मात्र बोलपत्र आह्वानको काम भएको छ तर निर्माण भने सुरुआत हुनसकेको छैन ।अरुण गाउँपालिकाले गत कात्तिकमा बोलपत्र खुलाएको जनाएको छ, भने रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अवस्थामा रहेको जनाएको छ । पौवादुङमा गाउँपालिकाको अस्पताल निर्माण भने २० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

विसं २०७७ फागुन महिनामा रु चार करोड ८१ लाख १४ हजारमा बोलपत्र आह्वान भइसकेकोले अस्पताल पाँच श्ययाको निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत रामेश राईले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाम्रोमा पाँच बेड क्षमताको अस्पताल निर्माण हुन्छ । यसको लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ ।” हालसम्म जग बसाल्ने काम भइसकेको उहाँको भनाइ छ ।त्यस्तै साल्पासिलिछो गाउँपालिकामा पनि रु छ करोड ६५ लाखको लागतमा पाँच श्ययाको अस्पताल निर्माणको लागि २०७८ असार महिनामा बोलपत्र प्रक्रियाबाट काम सुरु भएको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिनुभयो । वर्षाका कारण सामान ढुवानी गर्न यातायातको समस्या हुँदा काममा केही ढिलाइ भएको उहाँको भनाइ छ । बाटो राम्रो भएपछि कामले गति लिने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो,‘‘यहाँ अस्पताल निर्माण कामको प्रक्रिया सुरु भएको छ । वर्षाका कारण काममा खास प्रगति हुनसकेन । अब निर्माण कामलाई तीव्रताका साथ अघि बढाउने योजना छ ।’’आमचोक गाउँपालिकामा रु १२ करोड ५० लाख लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको लागि २०७८ वैशाखमा बोलपत्र प्रक्रिया सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । भवनको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा केही ढिलाइ भएको भए पनि समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग कुरा भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । केन्द्र सरकारले पाँच बेडको अस्पताल निर्माणको लागि निर्देशन गरेको भए पनि गाउँपालिकाका जनतालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा दश श्ययाको अस्पताल निर्माणको काम सुरु गरेको उहाँको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा रु १६ करोडको लागतमा गत असार महिनामा बोलपत्रमार्फत १५ बेड क्षमताको अस्पताल निर्माणको लागि प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ । सरकारको एक स्थानीय तहमा एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ सरकारको योजना अनुसार अस्पाल निर्माणको प्रक्रिया सुरु भएको छ । निर्माणको काम भने सुरु भएको छैन् । तर काम गर्ने तयारीमा छौँ ।’’अस्पताल अभावका कारण गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको उहाँको भनाइ छ । अस्पताल निर्माण पश्चात् आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने उहाँको भनाइ छ ।

रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यकपर्ने रहेछ । हामीले भर्खर जग्गा टुङगो लगाएका छौँ । अब चाँडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम सुरु हुन्छ ।’’षडानन्द नगरपालिकाले भने १५ श्यया क्षमताको गान्धी मेमोरियल अस्पतालबाट सेवा दिँदै आएको छ । यसअघि नै अस्पताल निर्माण भएकाले अर्को अस्पलात निर्माण नगरिएको नगर प्रमुख वीरबल राईले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख ममिता राईले बताउनुभयो ।

यहाँ ६६ स्वास्थ्यचौकी, ११ आधारभूत स्वास्थ्यसेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय प्रमुख फणिन्द्र थापाले बताउनुभयो । स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम संघीय सरकारले सोझै स्थानीय तहसँग काम गर्ने भएकाले आफुलाई त्यस विषयमा जानकारी नभएको उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,‘‘स्थानीय तहमा निर्माणका प्रक्रियामा रहेका अस्पताल केन्द्र सरकार मातहात बन्छन् । हामीलाई यसको विषयमा खास जानकारी छैन ।

स्थानीय तहले नै त्यसको व्यवस्थापन गरिरहेका छन् ।’’ सरकारले जनतालाई आधारभूत सेवा दिने लक्ष्यले सुरुआत गरेको काममा ढिलाइ हुनु दुःखत रहेको स्थानीयवासीले बताउने गरेका छन् । कामलाई तोकिएको समयमा सम्पन्न गराउनको लागि सरोकारवाला पक्ष जिम्मेवार भएर लाग्नुपर्ने रामप्रसाद गाउँपालिकाका स्थानीयवासी अविषेक मगरले बताउनुभयो ।उहाँले भन्नुभयो,‘‘सरकारले जनताको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै थालेका यस्ता कामलाई समयमा सम्पन्न गराउन पर्ने दायित्व स्थानीय सरकारको हो । आधारभूत अस्पताल नहुँदा जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । शिलान्यास भएको छ महिना हुन लाग्यो तर कामको प्रगति शून्य छ प्रायः यस्ता महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने हो । बेवास्ता गरेजस्तो देख्छु । धेरै स्थानीय तहले कामका प्रक्रियामा ढिलाइ गरिरहेका छन् ।’’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।