न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
जनकपुर, ७ मङ्सिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताउनुभएको छ । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भन्नुभयो,“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरु कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएकोे विवाद समाधान गर्नुपर्छ ।” समस्या समाधानमा ढिलाइ हँुदा आम जनतामा नाकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताउनुभयो ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि गठबन्धलाई निरन्तरता दिएर जाने विषयमा नियमित छलफल भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा पाँच दल सहमत रहेको बताउनुभयो । चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयोे, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्काे प्रदेशमा अर्काे एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।” त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उहाँको सुझाव थियो ।
नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान
काठमाडौँ, ७ मङ्सिर । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो । सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताउनुभयो ।


