चलचित्र निर्देशक रिनाशा वान्तवा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
इलाम, ८ मंसिर/निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।
रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत पाइन् । यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाए ।
इलामको चुलाचुली पुर्ख्याैली घर भएकी रिनाशा केही समयअघि मात्रै इलाम आएकी थिइन् । रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । उनले सयौ गीतमा कोरियाग्राफर गरेकी छन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन् ।
कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित
महेन्द्रनगर, ८ मङ्सिर (रासस):नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ उम्मेदवार हुनुहुन्थ्यो ।
सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्व सांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टिकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।
यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुल्लातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सह–सचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।


