सभापति देउवाद्वारा काँग्रेसको अबको बाटो’ विमोचन
काठमाडौँ, ८ मङ्सिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताउनुभयो । “पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तक कांग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ,” उहाँले भन्नुभयो । सभापति देउवाले डा सङ्ग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
पुस्तकका लेखिका डा सङ्ग्रौलाले १४औँ महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताउनुभयो । “पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु,” उहाँले भन्नुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले कांग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस बलियो बने मुलुकको विकास हुने उहाँको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताउनुभयो । “पुस्तकमा बिपीको चिन्तनअनुसार कांग्रेसको धरातल प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो, “कांग्रेस जान्न र बुझ्न खोज्नेहरुका लागि पुस्तक उपयोगी हुनेछ ।” पुस्तकमा नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरु, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४औँ महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ ।
कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप
पोखरा, ८ मङ्सिर । कास्कीमा १२ वर्षभन्दा माथिका किशोरकिशोरी लगाइने कोरोनाविरुद्धको फाइजर खोप एक हजार ९२० जनाले लगाएका छन् । कास्कीमा पहिलो चरणमा उपलब्ध दुई हजार १०० खोपमध्येसम्म मङ्गलबारसम्म एक हजार ९२० जनाले लगाएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोरोना फोकल पर्सन डा शरद बरालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत कात्तिक २८ देखि यही मङ्सिर ३ गतेसम्म उक्त उमेर समूहका दीर्घरोगीलाई प्राथमिकता दिएर प्रदान गरिएको र बाँकी अरू किशोरकिशोरीका लागि प्रदान गरिएको थियो । उहाँले बाँकी खोप आज प्रदान गरिने बताउनुभयो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन् । पहिलो चरणमा भाइजर खोप गण्डकी प्रदेशका कास्की र धौलागिरिका दुई अस्पतालबाट सञ्चालन गरिएको हो । धौलागिरिमा बुधबारसम्म एक हजार ९६ जनाले लगाएका छन् । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप नेपालमा पहिलो चरणमा एक लाख ६२० खोप देशका विभिन्न २५ वटा अस्पताललहरुमा सञ्चालन भएका छन् । यो खोप नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा दिइएको छ । अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ ।


