नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री ले सम्बोधन
चितवन, ९ मङ्सिर ।नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नुहुनेछ । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उहाँ फर्कनुहुनेछ । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै हुनुहुन्छ । एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।
पञ्चेश्वर गापामा आज र भोलि सार्वजनिक बिदा
बैतडी, ९ मङ्सिर । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ ।
यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो ।


