नेपाल राष्ट्र बैंकले रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने
काठमाडौँ, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको देखिन्छ ।
केन्द्रीय बैंकको पछिल्लो विवरणानुसार औषत कर्जा निक्षेप अनुपात ९० दशमलव ३१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले गरेको बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्थाअनुरुप यसको व्यवस्थापनमा बैंकहरूलाई कठिन परेको छ । सार्वजनिक विवरणानुसार हालको अवस्थामा बैंकले कर्जा दिनसमेत नसक्ने अवस्था देखिएको छ । हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर चार दशमलव ९६ प्रतिशत पुगेको छ । त्यस्तै चालु आवमा बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले रु १७ खर्ब ५९ अर्ब ९२ करोड ८५ लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुनसकेको छैन ।
कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी
डोटी, ९ मङ्सिर । नेपाली कांगे्रसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी हुनुभएको छ । बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गर्नुभएको छ । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी हुनुभएको हो।
मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिसत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे ।
सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए । कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गर्नुभएको थियो ।


