नेकपा एमालेको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने
काठमाडौँ, ९ मङ्सिर ।नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् ।एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिनुभयो । यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए ।यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्ने छ ।महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।
बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै
काठमाडौँ, ९ मङ्सिर ।नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।
प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको देखिन्छ । केन्द्रीय बैंकको पछिल्लो विवरणानुसार औषत कर्जा निक्षेप अनुपात ९० दशमलव ३१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले गरेको बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्थाअनुरुप यसको व्यवस्थापनमा बैंकहरूलाई कठिन परेको छ । सार्वजनिक विवरणानुसार हालको अवस्थामा बैंकले कर्जा दिनसमेत नसक्ने अवस्था देखिएको छ ।हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर चार दशमलव ९६ प्रतिशत पुगेको छ । त्यस्तै चालु आवमा बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले रु १७ खर्ब ५९ अर्ब ९२ करोड ८५ लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुनसकेको छैन ।


