मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने
काठमाडौँ, १० मङ्सिर ।पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन”, मौसमविद् बासीले भन्नुभयो । मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ । हाल प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
विश्वकप छनोट ः नेपालले पहिला बलिङ गर्दै
काठमाडौँ, १० मङ्सिर । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ ।दुबईको आइसीसी एकेडेमी मैदानमा कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । ग्लोबल छनोटको सम्भावना कायमै राख्नका लागि नेपालले आज मलेसियाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । छनोटअन्तर्गत यसअघि खेलिएका तीन खेलमध्ये नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा हङहङसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । नेपालको चार अङ्क छ । यता मलेसियाले भने तीन खेलमध्ये एक खेलमा जित हात पारेको छ । मलेसियाको दुई अङ्क छ ।


