प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल
काठमाडौँ, १० मङ्सिर ।प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराउनुभयो ।उहाँहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वाेच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राख्नुभएको विषयलाई गम्भीरतापूर्वक लिँदै सोबारेमा आफू अवगत रहेको अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक÷दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताउनुभएको थियो ।भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वाेच्च बार एशोसिएशनका पदाधिकारी, बारका पूर्वअध्यक्षहरु, पूर्वमहासचिवहरु, पूर्वमहान्याधिवक्ता, पूर्वसभामुखलगातय उपस्थिति हुनुहुन्थ्यो ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौँ, १० मङ्सिर ।पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन”, मौसमविद् बासीले भन्नुभयो । मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ । हाल प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री रसबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


